मुस्ताङमा प्रचण्डलाई प्रश्न : त्यो ५० करोड खोई ?

सुन्दरकुमार थकाली २०८२ जेठ ३० गते ११:२९

जोमसोम ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले जलवायु क्षतिवापत अन्तर्राष्ट्रिय जलवायु परिवर्तन कोषबाट आउने अनुदानमध्ये ५० करोड मुस्ताङलाई नै दिन्छु भनेर साँढे २ वर्षअघि मुस्ताङ आउँदा घोषणा गरेका थिए । विविध कार्यक्रममा सहभागी हुन अहिले मुस्ताङ आएका प्रचण्डलाई बिहीबार पत्रकारहरुले सोधे, ‘त्यो ५० करोड के हुँदै छ ?


माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले त्यो रकम आउने प्रक्रिया सुरु भइसकेकोमा सरकार परिवर्तनसँगै विषय ओझेलमा परेको दाबी गरे । त्यो ५० करोड अनुदानको बिषयमा अहिलेको सरकारले त्यति महत्व नदिएको आफूलाई लागेको उनको भनाइ छ ।


माओवादी अध्यक्ष दाहालले अहिलेको सरकार अलि बढी आफूप्रति र आफूले गरेका राम्रा कामप्रति बढी जस जान्छ भनेर डरले यस प्रकारका कामलाई उल्ट्याउन लागेको आरोप लगाए । उनले नेपाल र नेपाली जनताको हितमा नीति कार्यक्रम र बजेटमा पनि आफू र पार्टीको तर्फबाट जे जति कुरा अघि बढाएको र तिनलाई अहिलेको सरकारले कटौती गरेको उल्लेख गरे ।

Advertisement


यसै अन्तर्गत जलवायु परिवर्तनसँग सम्वन्धित कोषलाई पनि सरकारले उपेक्षा गरेको दावी उनको छ । अध्यक्ष दाहालले जलवायु कोषको अनुदानलाई आफू र पार्टीले सदनमा आवाज उठाउने र खबरदारी गरिरहने वाचा गरे । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले अन्तराष्ट्रिय मञ्चहरुमा नेपालमा जलवायु परिवर्तनबाट सृजित संकटका कुरा उठान गरेको र अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको सुनाए ।


‘नेपाललाई न्याय चाहिएको छ, नेपाली जनताले गर्दै नगरेको अपराधको मूल्य तिर्नुपर्ने बिडम्बनाको अन्त्य हुनुपर्छ भन्ने कुरा गरेको थिएँ’, दाहालले थपे, ‘त्यसपछि जलवायु कोषबाट केही रकम नेपाललाई दिने सहमति भएको थियो, जलवायु अनुदानको रकम विभिन्न ठाउँमा छर्नुभन्दा मुस्ताङलाई नै त्यो रकम दिँदा परिणाममुखी काम हुन सक्छ भनेर त्यो ५० करोड मुस्ताङलाई दिन्छु भनेको हुँ ।’

Advertisement


नेकपा माओवादी अध्यक्ष दाहालले विस. २०८० कार्तिक १ गते अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङको जोमसोममा आयोजना गरेको जलवायु संकट सम्बन्धी कार्यक्रममा आफू प्रधानमन्त्री भएका बेला जलवायु परिवर्तन कोषको अनुदान रकमको ५० करोड मुस्ताङलाई पठाउने घोषणा गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया