पचभैयामा हिमालयन रिसोर्ट सञ्चालन

समाधान संवाददाता २०८२ जेठ ३० गते १२:१५

पोखरा ।
प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका ३१ पचभैयामा हिमालयन फरेस्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ११ करोड लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका सञ्चालक प्रमोद भण्डारीले बताए ।


पोखराको दोस्रो ठूलो ताल बेगनास र रुपाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधायुक्त रिसोर्ट सञ्चालन गरेको उनको भनाइ छ । रिसोर्टमा विभिन्न श्रेणीका २१ कोठा छन् । ‘न्यूनतम २ हजारदेखि बढीमा ५ हजार ५ सय सम्मका कोठा हामीकहाँ छन्, खानामा पनि स्वदेशी र विदेशी दुवै परिकार उपलब्ध छ’, सञ्चालक भण्डारीले भने ।


रिसोर्टमा एक दिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ । ताल, हिमाल, वन, जंगल लगायत प्राकृतिक सम्पदाको दृश्यावलोकनका लागि पर्यटक पचभैया पुग्ने गर्छन् । चरा अवलोकनका लागि पनि उक्त क्षेत्र उपयुक्त मानिन्छ । ‘पोखराको व्यवस्त दैनिकी र कोलाहल छलेर शान्त रात बिताउन पर्यटक बेगनास क्षेत्रमा आउने गरेका छन्,’ उनी भन्छन्, ‘प्राकृतिक वातावरण आतिथ्य सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।’

Advertisement


रिसोर्टको औपचारिक उद्घाटन नभए पनि २ महिनादेखि सेवा दिन सुरु गरिएको छ । पोखराको बैदाममा विगत १८ वर्षदेखि अन्य व्यवसाय गर्दै आएका भण्डारीले रिसोर्टमा पहिलोपटक लगानी गरेका हुन् । शिक्षण पेसामा रहँदा पचभैया मन परेपछि जग्गा किनेको र अहिले सोही ठाउँमा रिसोर्ट खोलेको उनले सुनाए । ‘स्वदेशमै आत्मनिर्भर बन्नुपर्छ सोचले रिसोर्टमा लगानी गरेको हुँ’, उनी भन्छन् ।


उक्त क्षेत्रमा महँगादेखि सामान्य स्तरका होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । लेखनाथ होटल तथा रेष्टुराँ एसोसियसन अध्यक्ष वीरभद्र कँडेलले त्यस क्षेत्रमा १ सय ३७ होटल तथा रेष्टुराँ व्यवस्था सञ्चालन रहेको जानकारी दिए । ठूलो लगानीका रुपाकोट रिसोर्ट, बेगनास रिसोर्ट लगायतका रिसोर्ट तथा होटलले स्वादेशी र विदेशी पर्यटकलाई आतिथ्य सेवा दिँदै आएका छन् ।

Advertisement


प्राकृतिक सुन्दरता, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनास क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सात तालको बाटिका भनेर चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् ।


पोखराको पृथ्वीचोकदेखि १४ किमि र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको भने समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको पर्यटन व्यवसायीको गुनासो छ ।

तपाईको प्रतिक्रिया