झोला बनाउने तालिम

समाधान संवाददाता २०८२ जेठ ३० गते १६:३५

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजना र विधाता हस्तकलाको प्राविधिक सहकार्यमा सञ्चालित झोला बनाउने सीपमूलक तथा आयमूलक १५ दिवसीय तालिम बिहीबार सकिएको छ ।

Advertisement


महिलाहरूलाई सीपसँग जोडेर आयआर्जनमा सहयोग पुर्‍याउने र प्लास्टिकजन्य वस्तुको न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।


‘झोला निर्माण तथा आयमूलक’ कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा जनजाति, अल्पसंख्यक, उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीहरूलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं. ६ द्वारा विनियोजित रकमबाट कार्यक्रम आयोजना गरिएको थियो ।

Advertisement


प्रशिक्षकहरू सबिता श्रेष्ठ, धनमाया रोका र इन्द्रकुमारी पुनले प्रदान गरेको तालिममा महिला र पुरुष गरी २१ जना सहभागी थिए । तालिममा सपिङ ब्याग, जोगी ब्याग, ह्यान्ड ब्याग, पेन्सिल बक्स, मेकअप बक्स, जेब्रा ब्याग र भाइरल ब्याग गरी आठ प्रकारका झोलाहरू बनाउन सिकाइएको कार्यक्रम संयोजक तथा वडा सदस्य शोभा जलारीले जानकारी दिइन् ।


समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरिन् । तालिमबाट सिकेको सीपको उपयोगले मात्र तालिमको औचित्य पूरा हुने बताउँदै उनले बेरोजगारी समस्या न्यूनीकरणमा यो तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।

Advertisement


कार्यक्रम संयोजक तथा वडा सदस्य शोभा जलारीले जीवन भनेको सिकाइ र भोगाइ भएको बताउँदै सीप सिकेर आयआर्जन गर्न सकिने विचार व्यक्त गरिन् । उनले आर्थिक उन्नतिका लागि जीवनको उत्तरार्धसम्म पनि सिक्ने र सिकाउने कार्यलाई निरन्तरता दिनुपर्ने बताइन् । पोखरा–६ का वडा सदस्य बासु बरालले तालिममा सिकेको सीपबाट लाभ लिन सकेमात्र तालिमको उद्देश्य पूरा हुने बताए । साथै, उनले सिकाइलाई प्रभावकारी बनाउन जोड दिए ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ की नायब सुब्बा सरस्वती अधिकारी, खरदार अनिता गुरुङ, सूचना अधिकारी बसन्ती श्रेष्ठ, महिला सञ्जाल बैँदामकी अध्यक्ष बबिता मल्ल, कृषि सञ्जाल बैँदामकी अध्यक्ष वृन्दा धरेल, सामुदायिक प्रहरी सेवा केन्द्र बैँदामका अध्यक्ष ठाकुर बराल, नेवा मिस पुच बैँदामकी अध्यक्ष इन्द्रा श्रेष्ठ, देवीस्थान भलछोपुवा आमा समूहकी अध्यक्ष विष्णुमाया नेपाली, तालबाराही आमा समूहकी अध्यक्ष काली परियार, जलारी दिदीबहिनी समूहकी अध्यक्ष मिना जलारी, नवोदित आमा समूहकी अध्यक्ष लिला सुनार, फेवा एकता दिदीबहिनी समूहकी अध्यक्ष यशोदा र पोखरा महानगरपालिका वडा नं. ३ का वडा सदस्य सवि परियारलगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया