मुस्ताङमा स्याउ बगैँचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ ।
मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फाले जनाएको छ ।
यहाँको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गरी दोहोरो आम्दानी लिने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । किसानले स्याउ बगैँचाभित्र उवा, जौ, मकै, फापर, आलु, सिमी, बोडी, बन्दा, काउली, गोलभेडा, खुर्सानीलगायतका हरियो सागसब्जी उत्पादन गर्ने प्रचलन रहेको उनले बताए ।
जिल्लामा उत्पादन हुने स्याउ पतझड फलफूल हो । असोज/कात्तिकमा बगैँचाबाट स्याउ टिपिसकेपछि पात झरेर फागुन महिनासम्म स्याउको बोट उजाड हुने प्रमुख आत्रेयको भनाइ छ । यसप्रकारका स्याउ बोटमा पात झर्ने भएकाले स्याउ बगैँचामा अन्तरबाली खेती उपयुक्त रहेको प्रमुख आत्रेय बताउँछन् । स्थानीय जातका स्याउ बगैँचामा अन्तरबाली लगाउन मिल्ने भए पनि उच्च घनत्वको हाईब्रिड स्याउ बगैँचामा भने अन्तरबाली लगाउन उपयुक्त नहुने उनको भनाइ छ ।
पुरानो जातको स्याउ बगैँचामा बोटको दूरी पाँच/छ मिटरको फरकमा हुने भएकाले त्यसको फरकमा विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गर्दा राम्रो हुने र यसले किसानलाई पनि दोहोरो फाइदा पुग्ने उनी बताउँछन् । उपयुक्त ढङ्गले योजनावद्ध रुपमा स्याउ बगैँचामा अन्तरबाली खेती गर्न सकेमा स्याउको भन्दा दोब्बर तेब्बर आम्दानी गर्न सकिने शीतोष्ण बागबानी विकास केन्द्रका प्रमुख आत्रेयले दाबी गरे ।
स्याउको जरालाई असर पर्ने गरी अन्तरबाली लगाउँदा स्याउ बोटलाई क्षति पुर्याउन सक्ने र स्याउ बगैँचाभित्र अन्तरबाली लगाउँदा थप मलखादको व्यवस्था र पर्याप्त सिँचाइको सुविधा हुन आवश्यक छ । यसका साथसाथै नियमित रुपमा बगैँचा निरीक्षण गरी रोग कीराको व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्दछ ।
मुस्ताङको घरपझोङ गाउँपालिका– ४ का किसान अजित थकालीले स्याउ बगैँचाभित्र अन्तरबाली लगाएर मुस्ताङका किसानले दोहोरो आम्दानी लिने गरेको जानकारी दिए । उनले भने, “जिल्लामा खेतीयोग्य जमिन एकदमै न्यून छ, किसानले चाहेर पनि कृषि प्रणाली बृहत बनाउन सक्ने अवस्था छैन । उपलब्ध जग्गा उपयोग गरी स्याउ उत्पादनसँगै विभिन्न रैथाने खाद्यबाली र तरकारी लगाउने गरेका छन् ।”








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया