पोखरामा नेपाली पर्यटक बढाउन सहज कनेक्टिभिटी जरुरत

समाधान संवाददाता २०८२ असार ३ गते १८:४९

पोखरा ।

स्तरीय बस सेवा र हवाई सेवामार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही सहरमा सञ्चालन गरेको जाउँ है पोखरा अभियानका क्रममा उल्लिखित विषय उठेको हो ।

व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा सञ्चालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय तहसँग समन्वय गरी पश्चिम नेपालका मुख्य सहर र पोखरा जोड्ने गरी हवाई सेवा सञ्चालन गरिनुपर्ने विषय कार्यक्रममा चर्चा गरिएको थियो । संघले २ दशकअघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत यसपटक पाल्पा, वुटवल, नेपालगंज, सुर्खेत र दाङ (घोराही) मा अन्तरक्रिया र पत्रकार सम्मेलनहरु गरिएका थिए ।

Advertisement

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पोखरासँग सिधा हवाई सेवा संचालन गर्ने विषय आफूले सम्वन्धित ठाउँमा राख्ने प्रतिवद्धता जनाए । आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक लक्ष्मण सुवेदीले पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) पहिलो आवश्यकता भएको भन्दै स्तरीय वस सेवा र हवाई सेवामार्फत् सातै प्रदेश जोड्ने संघको उद्देश्य रहेको बताए ।

देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएको र आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिइएको पनि उनले स्पष्ट पारे । पोखरा आउने पर्यटकमध्ये २ देखि ३ प्रतिशत नेपाली हुने गरेकोमा अभियान सञ्चालन पछि हाल त्यस्तो आँकडा ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीले दाबी गरे ।

Advertisement

दाङको घोराहीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सीमा नाकामा भारतीय पर्यटकलाई चेकजाँच बढी भयो भन्ने गुनासो आउने गरेको स्मरण गराउँदै यसलाई सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने भनाइ राखे । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान सञ्चालन गरिएको हो ।

पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सहयोगी हुने विश्वास गरिएको छ । पोखराको होटल क्षेत्रमा ५ खर्बभन्दा बढी हाराहारीको लगानी रहेको, १ हजार २ सय होटलमा ४० हजार बेड रहेको र करिब २० हजारले रोजगारी पाएको संघका अध्यक्ष सुवेदीले कार्यक्रममा जानकारी दिएका थिए ।
सुर्खेतमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णाली अध्यक्ष पदमवहादुर शाही, बन्दिपुर केवलकार एन्ड टुरिजम लिमिटेडका उपाध्यक्ष किरण पोखरेल, नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव गोविन्द खत्री र आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले भनाइ राखेका थिए ।

घोराहीमा आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी, पर्यटन विज्ञ दीपेन्द्र पहारी, पत्रकारहरु सविन प्रियासन र विपुल पोखरेल, होटल व्यवसायी महासंघ दाङ अध्यक्ष ईश्वरकुमार बुढामगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं हान दाङका अध्यक्ष नरेश श्रेष्ठ र आयोजक संघ सचिव पार्वता पाण्डेले बोलेका थिए ।

तपाईको प्रतिक्रिया