पोखरा १३ मा ‘भोलिको प्रगतिका लागि : एउटा सानो कदम’

समाधान संवाददाता २०८२ असार ४ गते २०:३४

पोखरा ।

पोखरा महानगरपालिका–१३, पूर्वमा मादी गाउँपालिका, पश्चिममा माटेपानी, उत्तरमा वडा नं. २० र ११ तथा दक्षिणमा वडा नं. २६, १४, २८ र १० सँग सीमाना जोडिएको वडा हो । यो वडा शैक्षिक, सामाजिक, धार्मिक, प्राकृतिक र ऐतिहासिक मूल्य–मान्यता बोकेको महानगरभित्रको उत्कृष्ट वडाका रूपमा अगाडि बढिरहेको छ ।

वडाभित्र रहेका धार्मिक र सांस्कृतिक सम्पदाहरू—जस्तै श्री गणेश तथा भद्रकाली मन्दिर, कमलपोखरी रामसार क्षेत्र, जामे मस्जिद अक्सा, महाप्रभुधाम, रतनपाण्डे मन्दिर, अमित गुम्बा विजयपुर, र राधाकृष्ण मन्दिरले यस क्षेत्रको धार्मिक आस्था र सांस्कृतिक समृद्धिलाई झल्काउँछन् ।

Advertisement

शिक्षामा सबैको पहुँच होस् भन्ने उद्देश्यसाथ वडाभित्र सामुदायिक तथा संस्थागत विद्यालयहरू रहेका छन् । ती विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत विद्यालयहरूमा समेत गुणस्तरीय सुधारका लागि वडा कार्यालय वडा शिक्षा समितिमार्फत क्रियाशील छ ।

समग्र वडाको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालासँग व्यापक छलफल र अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा सार्वजनिक तथा संस्थागत विद्यालयको विकास र समन्वयका लागि वडाले शैक्षिक भूमिका तय गरेको छ ।
त्यही सन्दर्भमा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले ‘भोलिको प्रगतिको लागि : एउटा सानो कदम’ नामक कार्यक्रममा वडा कार्यालयले सहकार्य गरेको हो ।

Advertisement

वडाभित्रका ७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत केही बालबालिका आर्थिक अभावका कारण शैक्षिक सामग्री बिना नै विद्यालय आउँदा सिकाइ प्रक्रियामा असर पर्ने गरेको यथार्थका आधारमा उक्त कार्यक्रम प्रारम्भ गरिएको हो । दुई महिना अघिदेखि सुरु गरिएको यस कार्यक्रममार्फत शैक्षिक सामग्री वितरण गरी पठन–पाठनमा सहजता ल्याउने प्रयास गरिएको हो ।

कार्यक्रमका परिकल्पनाकार राजेन्द्र भण्डारीका अनुसार ‘भोलिको प्रगतिको लागि : एउटा सानो कदम’ कार्यक्रम वडाभित्र रहेका सामुदायिक विद्यालयहरूमा केन्द्रित छ । यो एक सहकार्यको उज्यालो यात्रा हो, जुन प्रगतिको दिशामा गरिएको पवित्र प्रयास र शीतल सम्बोधन पनि हो ।

कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण थप प्रेरणादायी बनाउने, समावेशी शिक्षा प्रवद्र्धन गर्ने, बालबालिकाको उज्ज्वल भविष्यको आधार तयार पार्ने र उनीहरूमा आत्मविश्वास तथा अवसर विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यस कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर, गरिब तथा अशक्त परिवारका बालबालिकालाई प्राथमिकता दिइनेछ । शिक्षामा समान पहुँच सुनिश्चित गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

कार्यक्रमको पहिलो चरण अन्तर्गत सिद्धार्थ प्राथमिक विद्यालय, सिमला प्राथमिक विद्यालय, अमरज्योति आधारभूत विद्यालय, विजया आधारभूत विद्यालय, रतनपाण्डे माध्यमिक विद्यालय, आर्वा विजय माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालयका गरी ६० जनाभन्दा बढी विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामग्री—जस्तै कापी, कलम, पेन्सिल, ज्योमेट्री बक्स, ड्रइङ कापी, ड्रइङ बक्स आदि—उपलब्ध गराइएको छ ।

कार्यक्रममा भद्रकाली माध्यमिक विद्यालयमा अध्ययन गरेर हाल विदेशमा रहेका महानुभावहरू—खेम सिंजाली, सन्दीप सुनार (पोर्चुगल), दीपक तिवारी (स्पेन), आनन्दमोहन खनाल (अमेरिका), बन्दना भण्डारी (अमेरिका), उमर गुरुङ (न्युजिल्यान्ड) ले जनही सात हजारका दरले तथा हाल जापानमा कार्यरत एकजना नाम नखुलाइएको व्यक्तिबाट २१ हजार रुपैयाँ सहयोग प्राप्त भएको जानकारी परिकल्पनाकार भण्डारीले दिएका छन् ।

कार्यक्रमको पहिलो चरणको समापन तथा अन्तिम शैक्षिक सामग्री वितरण भद्रकाली माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना बालबालिकालाई वडा नं. १३ का अध्यक्ष किरण बरालले सामग्री हस्तान्तरण गरी सम्पन्न गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक गुरुङ ‘माइला’ ले शैक्षिक सामग्री प्रदान गर्दै यस प्रकारको अभियानले अभिभावकलाई शीतलता प्रदान गर्ने र बालबालिका पठनपाठनमा सक्रिय हुने विश्वास व्यक्त गरे ।
उनले शिक्षक तथा अभिभावकहरूलाई प्रदान गरिएका शैक्षिक सामग्रीको पूर्ण उपयोग गर्न र कम्तीमा महिनामा एकपटक विद्यालयमा आएर आफ्ना छोराछोरीको पठनपाठनबारे बुझ्न अनुरोध गरे ।

कार्यक्रममा समाजसेवी डम्बरबहादुर श्रेष्ठ, प्रा. रामगोपाल ढेवाजू, जनप्रतिनिधि सुचिता तामाङ, वलबहादुर बराल, शिक्षा समिति सदस्य कुमार केसी, रामकुमारी पौडेल, अभिभावक संघकी सदस्य हरिकला श्रेष्ठ, शिक्षक शान्ति केसी, जीवन बुढाथोकी, सरिता गिरीलगायत शिक्षक र अभिभावकहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन परिकल्पनाकार राजेन्द्र भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया