पोखरा आदर्शमा अभिभावक भेला र प्रशिक्षण

समाधान संवाददाता २०८२ असार ६ गते ११:३९

पोखरा ।

Advertisement

पोखरा बगरस्थित पोखरा आदर्श माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकलाई लक्षित गर्दै अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रशिक्षक नारायण न्यौपानेले नयाँ पुस्ताको चिनारीबाट मात्र उनीहरूको शैक्षिक गुणस्तर र चौतर्फी विकास सम्भव हुने बताए। “विद्यार्थीलाई परिवर्तन गर्न अभिभावक र शिक्षक स्वयंमा परिवर्तन आवश्यक छ,” उनले जोड दिए।

Advertisement

बिहानी सत्रका इन्चार्ज कुसल तिमिल्सिनाले विद्यार्थीहरूलाई भयमुक्त वातावरण र प्रोत्साहन आवश्यक भएको बताए। “विद्यार्थीले गरेर सिक्ने वातावरण शिक्षक, अभिभावक र विद्यालयले मिलेर निर्माण गर्नुपर्छ,” उनले भने।

साइन्स इन्चार्ज बलराम सुवेदीले विद्यार्थीको रुचि र हितलाई ध्यानमा राखी यो शैक्षिक सत्रका लागि विविध कार्ययोजना प्रस्तुत गरे।

Advertisement

विद्यालयका प्रधानाध्यापक फडिन्द्र अधिकारीले विषय प्रवेश र स्वागत मन्तव्य राख्दै विद्यालयले ज्ञान, सीप र संस्कारयुक्त गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाले उत्कृष्ट नतिजा हासिल गरेको बताए। कार्यक्रममा सहभागी अभिभावकहरूले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। सापकोटाले प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थी यान्त्रिक बन्दै गएका कारण उनीहरूलाई घर, परिवार र समाजका गतिविधिमा संलग्न गराउनुपर्नेमा जोड दिए।

कार्यक्रमको सहजीकरण विद्यालयका उप–प्रधानाध्यापक तथा लोकगायक ज्ञानेश्वर सुवेदीले गरेका थिए।

तपाईको प्रतिक्रिया