मुस्ताङमा ७२ देशका ७ लाख पर्यटक

सुन्दरकुमार थकाली २०८२ असार ८ गते २०:०४

जोमसोम ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुँदै गएको हो ।

जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिक स्थलका रूपमा चर्चित छ । उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँको पर्यटकीय गन्तव्य हुन् ।

Advertisement

पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले मुस्ताङ घुम्नैपर्ने मुख्य आर्कषक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । जिल्लाका यिनै धार्मिक, सामाजिक, सांस्कृतिक संस्कृतिका साथै यहाँको पृथक प्रकारका भूगोल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक भ्रमण गर्न लालायित हुने गरेको पाइएको छ । विगत पाँच वर्षको पर्यटकीय तथ्यांक तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

Advertisement

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको ११ महिनामा स्वदेशी तथा विदेशी गरी ६ लाख ७८ हजार ५ सय ३६ जना पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आव २०८०/८१ मा ४ लाख ५४ हजार ३ य २६ स्वदेशी तथा विदेशी पर्यटकले जिल्ला भ्रमण गरेका थिए । गत वर्षको तुलनामा चालु आवको ११ महिनामा २ लाख २४ हजार २१० जना अर्थात् ३३ प्रतिशतले पर्यटक बढेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

चालु आवको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी ५ लाख ३९ हजार ८ सय ७२ र विदेशी १ लाख ३८ हजार ६ सय ६४ जनाले मुस्ताङ भ्रमण गरेका छन् । गत वर्षको १२ महिनामा स्वदेशी ३ लाख ५४ हजार ९२७ र विदेशी ९९ हजार ३ सय ९९ जनाले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षभन्दा चालु आवको ११ महिनामा स्वदेशी पर्यटक ३४ दशमलव २५ प्रतिशत र विदेशी पर्यटक २८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको साउनदेखि जेठसम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिकमा ९९ हजार १ सय ७६ र चैतमा ८९ हजार ३ सय ४४ जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरीको तथ्यांक छ । विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठमा २८ हजार ३ सय ७२ र वैशाखमा २६ हजार २९ जना विदेशीले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाले बताए ।
मुस्ताङमा अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका साथै कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पिण्डदान र तर्पण दिन आउने गर्छन् । मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटकमध्ये एक चौथाइले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी फर्किने गरेको पाइएको छ ।

मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकमा ८० प्रतिशत भारतीय छन् । मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले उल्लेख्य भारतीय पर्यटक मुस्ताङ आउने गर्छन् । विदेशी पर्यटकमध्ये २० प्रतिशत अन्य मुलुक छन् । यसमा ७२ देशका पर्यटक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया