फेवाताल छेकिने गरेर घर बने, पोखरा महानगर टुलुटुलु हेरेर बस्योः सांसद बराल

समाधान संवाददाता २०८२ असार १० गते १७:०३

-प्राविधिक तथ्य पुष्टि नभएसम्म हाल भइरहेको ताल घर सिमांकन स्थगित गर्न उनको माग छ –


पाेखरा ।

फेवाताल किनारमा अवैध संरचना बढ्दै गएको भन्दै सांसद प्रकाश बरालले गम्भीर आपत्ति जनाएका छन् । मंगलबारको प्रदेश सभा बैठकमा उनले पोखरा महानगरले फेवाताल छेकिने गरेर बनेका संरचना नभत्काएर टुलुटुलु हेरेर बसेको आरोप लगाए । बरालले ताल छेकिने गरी बनाइएका संरचनाहरूको समीक्षा गर्न विशेष समिति गठन गर्न सरकारसँग माग गरेका छन् । ‘तालको अस्तित्व मेटिने गरी बनाइएका संरचनाहरू तत्काल अनुगमन गर्नुपर्छ,’ उनले भने ।

Advertisement


बरालले फेवाताल संरक्षणसम्बन्धी सरकारी काममा गम्भीर लापरबाही भएको आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतले तोकेको ६५ मिटर मापदण्ड कार्यान्वयनका नाममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गम्भीर लापारबाही गरेको आरोप लगाए ।


उनले फेवातालको किनारमै पुगेर आफूले अवलोकन गर्दा सरकारको लापरबाही प्रष्ट देखिएको दाबी गरे । ‘झुपडीभित्र पुगेर हेर्दा ताल छेकिने गरेर चार–पाँच तले भवनहरू बनेका छन्,’ सांसद बरालले भने, ‘राजपत्रमा एक तलेभन्दा माथि बनाउन पाइँदैन भन्ने उल्लेख भए पनि त्यसको खुलेआम उल्लंघन भइरहेको छ त्यसमा महानगर टुलुटुलु हेरेर बसेको छ ।’ अवैध निर्माणमाथि कुनै कारबाही नभएको भन्दै पोखरा महानगरपालिकामाथि प्रश्न उठाए । ‘महानगरपालिका किन टुलुटुलु हेरेर बसिरह्योरु कानुन कार्यान्वयन गर्ने जिम्मेवारी उसैको हो,’ उनले भने ।

Advertisement


प्राविधिक तथ्य पुष्टि नभएसम्म हाल भइरहेको ताल घर सिमांकन स्थगित गर्न उनको माग छ । फेवातालको मापदण्डबारे सर्वोच्च अदालतको आदेशपछि प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा ताल किनारको ६५ मिटरभित्रको सिमांकनको कार्य थालेका छन् । तर, स्थानीय बासिन्दा, सरोकारवाला र सांसदहरूकै तर्फबाट यो कार्य पारदर्शी र वैज्ञानिक नभएको भन्दै प्रश्न उनले ।

तपाईको प्रतिक्रिया