पोखरा—मुग्लिन पूर्वी खण्ड पूरै कालोपत्र

समाधान संवाददाता २०८२ असार १५ गते ११:०३

दमौली ।
मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडक अन्तर्गत ४ लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले शुक्रबार तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो ।

कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदार लगायतको उपस्थिति थियो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले कालोपत्रको मुख्य काम सकिएसँगै अनौपचारिक रूपमा कार्यक्रम गरी खुसी साटासाट गरिएको जानकारी दिए । उनले भने, ‘पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको चार लेनमा ‘डबल’ लेनमा कालोपत्र सकिएको छ, मुख्य काम सकिएको खुसियालीमा निर्माण कम्पनीले अनौपचारिक हिसाबले कार्यक्रम गरेको हो ।’


पाण्डेका अनुसार पूर्वी खण्डमा अब स–साना काममात्रै बाँकी छन् । ४१ दशमलव पाँच किलोमिटर दूरीको उक्त खण्डमा सडक सुरक्षा, सडक मार्किङ लगायतका काम पनि भइरहेका छन् । सम्झौता भएको ३ वर्ष र पछिल्लो ४ सय ५६ दिनको अवधिमा कालोपत्रको काम सकिएको उनको भनाइ छ । यो खण्डको अन्तिम म्याद आगामी असार २९ गतेसम्म छ ।

Advertisement

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया