चौरी गोठालालाई घुम्तीगोठ

जोमसोम।
मुस्ताङको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याक, चौरी र च्यांग्रा पालक किसानलाई घुम्ती गोठ निर्माण गरिएको छ ।
हिउँदको जाडो महिनामा बेँसीमा झारिने याक, चौरी र च्यांग्रालाई गर्मी याममा उच्च हिमाली क्षेत्रका घुम्ती चरनमा लगेर पालिन्छ । उच्च हिमाली क्षेत्रमा याक, चौरी र च्यांग्राको रेखदेख गर्ने किसान (गोठाला) को सुविधाका लागि मुस्ताङका चार पालिकामा झन्डै दुई दर्जनभन्दा बढी अस्थायी घुम्ती गोठ निर्माण गरिएको छ ।
थासाङ गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटअन्तर्गत याक र चौरी पालक किसानका लागि ’याक–चौरी पालक किसानका लागि आवश्यक पूर्वाधार निर्माण’ शीर्षकमा ८ लाख बजेट विनियोजन गरेको थियो । यसका अतिरिक्त, थासाङ गाउँपालिकाका लागि ’याक प्रवद्र्धन कार्यक्रम’ शीर्षकमा संघीय सरकारको सशर्त अनुदान १० लाख विनियोजन भएको थियो । संघीय सरकार र पालिकाको बजेटबाट ५० प्रतिशत अनुदान सहुलियतमा घुम्ती गोठ निर्माण गरिएको छ ।
थासाङ गाउँपालिकाका कृषि शाखा अधिकृत राजन श्रेष्ठले हिमालयन चौरी पालक तथा संरक्षण समितिमा आबद्ध २० घरधुरीका याक–चौरी पालक किसानका लागि २० वटा वातावरणमैत्री अस्थायी गोठ निर्माण गरिएको जानकारी दिए । गाउँपालिका र संघीय सरकारको १८ लाख अनुदान र सम्बन्धित किसान समितिको १८ लाख लागत साझेदारी गरी कुल ३६ लाख बजेटमा थासाङको मार्चे लेक, मुलीखर्क र बतासे लेकमा १५ वटा याक–चौरी पालक किसान बस्ने अस्थायी गोठ निर्माण गरिएको उनले बताए ।
थासाङ गाउँपालिकाअन्तर्गत हिमालयन चौरी पालक तथा संरक्षण समितिमा आबद्ध २० घरधुरीका लागि ढुङ्गाको पर्खाल, काठको बार र जस्ताले छाएर अस्थायी गोठ निर्माण सम्पन्न भएको पशु शाखा अधिकृत श्रेष्ठले उल्लेख गरे ।
थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले संघीय सरकार र पालिकाको अनुदान सहयोगमा मार्चे लेकमा १० वटा, मुलीखर्कमा ६ वटा र बतासे लेकमा ४ वटा गोठाला बस्ने घुम्ती गोठ निर्माण सम्पन्न भएको बताए ।
वडाध्यक्ष शेरचनले थासाङका उच्च हिमाली क्षेत्रमा याक–चौरी रेखदेख गर्ने गोठालाका लागि गोठ निर्माणले ठूलो सहयोग पुगेको उल्लेख गरे । ’गोठाला बस्ने संरचना बनेपछि बस्ने र खाने सुविधा सहज भएको छ,’ वडाध्यक्ष शेरचनले भने, ’गोठभित्रै बसेर दूध, दही, घ्यू र छुर्पी जस्ता परिकार बनाउन सजिलो भएको छ ।’ थासाङमा २३ घरधुरीले याक–चौरी पालन गरे पनि २० घरधुरी मात्र हिमालयन याक–चौरी तथा संरक्षण समितिमा दर्ता भएको उनले बताए ।
यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जिल्लाका चार पालिकामा दुई शीर्षकमा घुम्ती गोठ निर्माण गरेको कार्यालय प्रमुख पशु चिकित्सक डा. लालमणि अर्यालले जानकारी दिए ।
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले घुम्ती गोठ संरक्षण कार्यक्रम र स्थानीय नश्लको पशु संरक्षण कार्यक्रमअन्तर्गत थासाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा याक, चौरी र च्यांग्रा पालकका लागि उच्च हिमाली क्षेत्रमा घुम्ती गोठ निर्माण गरिएको डा. अर्यालले उल्लेख गरे ।
भेटेरिनरी कार्यालयले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार थासाङमा १० लाख, लोघेकर दामोदरकुण्डमा १० लाख, वारागुङ र लोमान्थाङमा ५–५ लाख बजेट विनियोजन गरी याक, चौरी र च्यांग्रा पालक किसानलाई ९० प्रतिशत अनुदान सहुलियतमा घुम्ती गोठ निर्माण गरिएको डा. अर्यालले बताए ।
हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठदेखि असोजसम्म उच्च हिमाली क्षेत्रमा याक, चौरी र भेडाच्यांग्रा पालिन्छ । हिउँद याम सुरु भएपछि मंसिरदेखि वैशाख अन्तिमसम्म उच्च हिमाली क्षेत्रका याक, चौरी र भेडाच्यांग्रालाई बस्ती नजिक स्थानान्तरण गर्ने प्रचलन छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया