राष्ट्रपति र सातै प्रदेशका प्रमुखहरूबीच भेट
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताएका छन् ।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरुसँग शीतल निवासमा बुधबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ”, उनले भने ।

प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनको भनाई थियो । “त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरुरी छ”,राष्ट्रपति पौडेलले भने । उनले प्रादेशिक कानुन निर्माणका कामहरू चाँडै सकेर कार्यान्वयनमा जति सक्दो चाँडै लाग्छौ, परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पु¥याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ, यसमा विलम्व नगरौं भनेर हाम्रोतर्फबाट झक्झकाउने काम गरौं भने ।
“प्रदेशको संरचनाले मात्र यसको राजनीतिक महत्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौ, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौं, साथसाथै अन्तर प्रदेश सहकार्य र समन्वयमा जोड दिऔं, एक आपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भने ।
प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औंल्याए । मुख्य कुरा नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ थियो । “खासगरी मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क गर्ने र छलफल गर्ने गर्दा उपयुक्त हुन्छ भन्ने पनि म ठान्दछु”, राष्ट्रपति पौडेलले भने ।
विकास–निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिजस्ता क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न उनले सुझाव दिए ।
राष्ट्रपति पौडेलले हामी सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौं भन्ने आग्रह गरे । सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरुले आफूले भोग्नुपरेका कठिनाई, कानुन नियममा रहेका अन्यौलहरुको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईदिन हुन राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।








म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया