पोखराका सफल कृषि अभ्यासहरूको स्थलगत अवलोकन

समाधान संवाददाता २०८२ असार १८ गते १९:५१

पोखरा।

गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले पोखराका विभिन्न स्थानमा लागू गरिएका सफल कृषि अभ्यासहरूको स्थलगत भ्रमण गरे। ली–बर्डको आयोजनामा मंगलबार भएको उक्त बहुसरोकारवाला भ्रमणमा तीनै तहका सरकारी प्रतिनिधि, विज्ञ र किसानहरूको सहभागिता थियो।

भ्रमणको उद्देश्य कृषि क्षेत्रका नवीन अभ्यास, चुनौती र सम्भावनाबारे प्रत्यक्ष जानकारी लिनु रहेको थियो। भ्रमणका क्रममा टोलीले पोखरा-१३, आर्वास्थित नमूना प्राङ्गारिक कृषि सहकारीमा पुगी सामुदायिक बीउ बैंक, प्राङ्गारिक खेती र बजारीकरणका चुनौतीबारे किसानहरूसँग अन्तरक्रिया गर्‍यो। त्यस्तै, पोखरा-२८ को काफलघारीमा मानव–वन्यजन्तु द्वन्द्वको समाधानका रूपमा सफल भएको कागुनो खेतीको अवलोकन गरियो। स्थानीय अगुवा कृषक अम्बिका भण्डारीको पहलमा सुरु भएको यस खेतीबाट वार्षिक ३,००० किलो कागुनो बिक्री हुँदै आएको छ।

Advertisement

टोलीले सोही वडाको ओख्ले गाउँमा आकासे पानी संकलन प्रविधिमार्फत ३४ घरधुरीले तरकारी खेतीबाट गरिरहेको आयआर्जनको अभ्यास पनि अवलोकन गर्‍यो। भ्रमणको अन्त्यमा, पोखरा-३१ स्थित जैविक विविधता सूचना केन्द्रमा रुपा–बेगनास जलाधार क्षेत्रमा रैथाने बाली संरक्षणका प्रयासबारे जानकारी लिइएको थियो।

भ्रमणको समीक्षा गर्दै सहभागीहरूले यस्ता सामूहिक भ्रमणले कृषि क्षेत्रका समस्या र अवसर पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। सो अवसरमा कास्कीमा विस्तार भइरहेको सेतो कागुनोलाई प्रदेशको बीउविजन ऐनअन्तर्गत दर्ता प्रक्रिया अगाडि बढाउन सबै पक्षले समन्वय गरी काम थाल्ने प्रतिबद्धता जनाए। भ्रमणले कृषि उत्पादन, बजारीकरण र जैविक विविधता संरक्षणमा नयाँ दिशा निर्देश गरेको सहभागीहरूको भनाइ छ।

Advertisement

तपाईको प्रतिक्रिया