३ पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य नियुक्त

समाधान संवाददाता २०८२ असार २० गते १९:३९

पोखरा ।

पोखराका पत्रकार जमुना वर्षा शर्मा र बासुदेव मिश्र एवं लमजुङका पत्रकार नवीन कुइँकेल नेपाल सरकारद्वारा श्रमजीवी पत्रकारहरूको हकहितका लागि गठित ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ को सदस्यमा नियुक्त भएका छन् ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरु उक्त जिम्मेवारीमा नियुक्त भएका हुन् ।

Advertisement

वि.सं. २०५८ सालमा बागलुङबाट प्रकाशित ‘धवलप्रभात’ साहित्यिक मासिक पत्रिकाबाट साहित्यिक पत्रकारितामार्फत पत्रकारिता आरम्भ गरेकी शर्माको पोखराका माछापुच्छ्रे एफएम, पोखरापत्र दैनिक, महिला खबर डट कम, देशसञ्चार डट कम जस्ता विभिन्न सञ्चारमाध्यममा संवाददाताका रूपमा काम गरेको अनुभव छ। शर्मा हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिव छिन्।

२ दसकदेखि पोखराको पत्रकारितामा क्रियाशील मिश्र नेपाल खबर डटकमका लागि पोखरा ब्युरो प्रमुख छन् । ढोरपाटन दैनिकमा आवद्ध मिश्र अन्नपूर्ण एफएममा समेत कार्यरत छन् । उनीसँग पोखरापत्र दैनिक, जनमत दैनिक, पोखरा एफएम र माछापुच्छ्रे एफएम लगायतमा काम गरेको अनुभव छ । मिश्र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष हुन् ।

लमजुङका पत्रकार कुइँकेल गोरखापत्र दैनिकका संवाददाता हुन् । उनी पनि झन्डै २ दसकदेखि पत्रकारितामा क्रियाशील छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य भइसकेका कुइँकेल शालीन र भद्र पत्रकारका रुपमा परिचित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया