सिद्ध बराह माविमा खानेपानी टंकीको शिलान्यास

समाधान संवाददाता २०८२ असार २२ गते १३:४२

पोखरा ।
लायन्स क्लब पोखरा समृद्धिको आयोजनामा सेन्ट एडवार्ड स्कूल अक्सफोर्ड युकेबाट प्राप्त २ लाख रुपैयाँको सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर २३ सिद्ध बराह माध्यमिक विद्यालयमा १० हजार लिटर क्षमताको खानेपानी टंकीको शिलान्यास वडा नम्बर २३ का वडाध्यक्ष रामकाजी गुरुङले गरे । लायन्स क्लब समृद्धिका प्रतिनिधिले पोखरा बजारभन्दा टाढा रहेको यस क्षेत्रमा विदेशी विद्यार्थीहरूले खाजाको रकम कटाएर सहयोग गरेकोमा युकेका विद्यार्थीहरूलाई धन्यवाद दिए ।

Advertisement


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुलीले निस्वार्थ रूपमा सेवा गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिए । परियोजना निर्देशक सोनाम साङ्पोले यो वर्ष ८ वटा विद्यालयमा खानेपानी टंकी निर्माण गर्ने योजना रहेको र यो दोस्रो परियोजना भएको बताए । उनले विद्यार्थीहरु खानेपानीका कारण बिरामी नहुन् र स्वस्थ रहून् भन्ने उद्देश्यले यो परियोजना विगत ८ वर्षदेखि सञ्चालनमा रहेको जानकारी दिए ।


विद्यालयका प्रधानाध्यापक बद्रीनाथ पराजुलीले २६५ जना विद्यार्थीका लागि शुद्ध खानेपानीको व्यवस्था भएकोमा खुसी व्यक्त गरे । लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसका संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठले समृद्धि लायन्स क्लबका सक्रिय सदस्यहरू सामाजिक सेवामा अग्रणी रहेको र जहाँ आवश्यकता हुन्छ त्यहाँ लायन्सको उपस्थिति रहने बताए ।

Advertisement


त्यस अवसरमा जनप्रतिनिधि वडा सदस्यहरू चेतबहादुर क्षेत्री र रीता सुनार, लायन्स क्लब समृद्धिका पूर्वअध्यक्ष कुस्मा राना, संयोजक राधिका थापाले शुभकामना व्यक्त गरे । कार्यक्रम सञ्चालन सचिव रोजिना कुँवरले गरिन् । उक्त कार्यक्रम लायन्स क्लब पोखरा समृद्धिका अध्यक्ष सन्ध्या लिगलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया