२४ घण्टाभित्र १० प्रतिशत सेवा शूल्क पुनः पाउने माग राख्दै विरोधमा उत्रे मजदुर

समाधान सम्वाददाता
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवानको रेष्टुरेन्ट तथा बारले लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय फिर्ता गर्न मजदुरले २४ घण्टे अल्टिमेटम दिएका छन्।
होटल तथा रेस्टुरेन्टका मजदुरको बुधबार बसेको बैठकले कानुनमा भएको कुरालाई मालिकले बेवास्ता गर्दै मजदुरमाथि दमन गर्न खोजेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघका केन्द्रीय महासचिव मुक्ति दाहालले बताए।
‘सुरूमा हामी आफ्नो प्रतिष्ठानको लिखित धारणा माग्छौं। यदि प्रतिष्ठान रेवानको पक्षमा भए हामी काम ठप्प पार्छौ,’ दाहालले भने, ‘मालिकले यसरी हामीलाई दमन गरिरहे हामी कालोमोसो दल्नेदेखि कुटपिटमा उत्रन पनि पछि पर्दैनौ।’
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवानको सोमबार बसेको बैठकले रेष्टुरेन्ट तथा बारहरूले लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेसँगै मजदुरहरु आन्दोलित बनेका हुन्।
उपभोक्ताबाट भएको चौतर्फी विरोध तथा असन्तुष्टिका कारण सेवा शुल्क हटाएको रेवानको तर्क छ।
रेवानको यो निणर्य विरुद्ध मंगलबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघ र नेपाल पर्यटन तथा होटल संवद्ध श्रमिक संघले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेको थियो।
तपाईको प्रतिक्रिया