पोखरा महानगरबाट दुई कृषकलाई उत्कृष्ट कृषक सम्मान

पोखरा — पोखरा महानगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा योगदान दिएका दुई कृषकलाई ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ। कृषि तर्फ पोखरा–२५ मा सञ्चालित सावित्री हराभरा एकीकृत कृषि फर्मका सञ्चालक चित्रनाथ पौडेल र पशुपालन तर्फ पोखरा–१९ मा सञ्चालित नेपाल लाइभस्टक एन्ड रिसर्च सेन्टरकी सञ्चालक सरस्वती बस्ताकोटी यस वर्ष सम्मानित भएका हुन्।
उनीहरूलाई पोखरा महानगर प्रमुख धनराज आचार्यले नगद र सम्मानपत्र प्रदान गरेका थिए।
चित्रनाथ पौडेलले ३३ रोपनी क्षेत्रफलमा विविध खेती गर्दै आएका छन्। उनले १० रोपनीमा धान, ४ रोपनीमा वर्षे तरकारी, ४ रोपनीमा हिउँदे तरकारी र १८ रोपनीमा बेमौसमी तरकारी खेती गरिरहेका छन्। २०५५ सालमा दुई वटा प्लास्टिक घरबाट सुरु भएको उनको कृषि व्यवसाय हाल ९५ वटा प्लास्टिक घरमा विस्तार भएको छ। उनले सय जनालाई रोजगारी दिएका छन् भने लाखौँ रुपैयाँ आम्दानी हुने गरेको छ।
पौडेलले आफूलाई उत्कृष्ट महानगर कृषकको रूपमा सम्मान गरिएकोमा खुसी व्यक्त गरे। साथसाथै उनले अरु कृषकहरूलाई प्रविधि र ज्ञान हस्तान्तरणमा सहयोग गर्न आग्रह गरे।
त्यसैगरी, अर्की सम्मानित कृषक सरस्वती बस्ताकोटीले पोखरा–१९ मा १७ रोपनीमा घान खेती गर्दै आएकी छन्। उनीसँग २०० वटा बंगुर छन् भने गाई फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हुँदै आएको छ।
कार्यक्रममा महानगर क्षेत्रका उल्लेखनीय कार्य गरेका थप १० वटा कृषक समूहलाई पनि नगदसहित सम्मान गरिएको थियो।
कृषि एम्बुलेन्स परिचालन, साप्ताहिक हात बजार सञ्चालन र कौसी खेती व्यवस्थापन गरेबापत वडा नं. ७ को वडा स्तरीय कृषि सञ्जाल, मौरी पकेट कार्यक्रम र नियमित अनुगमन बापत वडा नं. १६ को कृषि सञ्जाल, व्यवसायिक कागुनो, गहुँ र तरबुजा खेती प्रवर्द्धन गरेबापत पिपल डाली काफल घारी कृषक समूह पोखरा–२८, नियमित किसान बजार सञ्चालन गरेबापत किसान बजार व्यवस्थापन समिति पोखरा–१३ र स्थानीय बालिका जात संरक्षणमा सक्रिय जैविक स्रोत अभियान बेगनास पोखरा–३१ ले सम्मान पाए।
त्यसैगरी, व्यवसायिक काँक्रो खेती गर्ने उल्लेरी चिप्लेटी अन्नपूर्ण कृषक समूह पोखरा–२२, रासायनिक मल वितरण व्यवस्थित गर्ने प्रभु धाम हरियाली कृषि सहकारी पोखरा–१३, कागती, सुन्तला, कफी र घाँसका बिरुवा उत्पादन गर्ने कयरबारी बहुउद्देश्यीय कृषि नर्सरी पोखरा–२३, भर्मी कम्पोस्ट मल उत्पादन गर्ने ग्रिन नेपाल जननी भर्मीकम्पोस्ट पोखरा–१४ र जेठो बुढो तथा आलुको बिउ उत्पादन गर्ने लक्ष्मी सिड सेन्टरलाई पनि सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा महानगरको कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्यमा महानगर लागिपरेको बताए। कृषि उपजमा आत्मनिर्भर बन्न उत्पादन बढाउनु जरूरी रहेको उल्लेख गरे। साथै कृषकलाई आवश्यक प्राविधिक सेवा, मल, बीउ, बिरुवा र पशुपालनका क्षेत्रमा अनुदान तथा साझेदारीका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी पनि दिए।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया