
जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ तिरी गाउँमा जलवायु परिवर्तनका कारण सिँचाइको मुहान सुक्दै जान थालेपछि कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गरी सिँचाइ प्रणाली सुरु गरिएको छ । सिँचाइका लागि पानीको मुहान सुक्दै जान थालेपछि त्यहाँ बस्ती विस्थापित हुने अवस्थामा थियो ।
गण्डकी प्रदेश सरकारद्वारा खानेपानी, जलश्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट खर्च गरेर मुस्ताङको तिरी गाउँमा लिफ्टिङ सिँचाइ आयोजना कार्यान्वयनमा ल्याएको थियो ।
स्थानीय तिरी गाउँ उपभोक्ता समिति र स्थानीय बासिन्दाको सहयोगमा तिरी लिफ्टिङ सिँचाइ आयोजना सम्पन्न भएको जानकारी खानेपानी, जलश्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय मुस्ताङका प्रमुख सञ्जय कोइरालाले दिएका छन् । त्यहाँको गाउँमा जलवायु संकटले सिँचाइ स्रोत नहुँदा बस्ती विस्थापित हुने अवस्था आएपछि कार्यालयद्वारा कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गरी सिँचाइको पहुँच पुर्याउन सफल भएको पनि प्रमुख कोइरालाले जनाएका छन् ।
कृषि र पशुपालन हिसाबले निकै उर्वर भूमि रहेको त्यहाँको तिरी गाउँमा सिँचाइ सुविधाको अभाव हुँदा त्यहाँका कृषकहरू निकै ठूलो समस्यामा पर्दै आएका थिए । त्यहाँको खेतीयोग्य जमिनलाई सिँचित गराउन कालिगण्डकी नदीको छेउमा सम्प वेल निर्माण गरी पाइपलाइनमार्फत लिफ्टिङ प्रणाली सुरु गरिएको जानकारी पनि प्रमुख कोइरालाले दिएका छन् ।
उनका अनुसार त्यहाँ ६३ एमएमको ५७० मिटर लामो जिआइ र पोलिथिन पाइपलाइनद्वारा तिरी गाउँमाथिको सिँचाइ पोखरीमा भण्डारण हुने गरी कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गरिएको हो । यसका लागि कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गर्न नदी छेउमा पम्प हाउस निर्माण गरिएको छ । त्यहाँ प्रति सेकेन्ड तीन लिटर पानी झर्ने गरी कालिगण्डकीको पानी गाउँमाथि लिफ्टिङ गर्ने भएको प्रमुख कोइरालाले जनाएका छन् ।
गाउँमाथिको सिँचाइ पोखरीमा भण्डारण हुने गरी कालिगण्डकी नदीको पानी लिफ्टिङ
कालिगण्डकी नदीको पानी सिँचाइका लागि लिफ्टिङ भएपछि तिरी गाउँका स्थानीय कृषकहरूमा खुसीयाली छाएको छ । कालिगण्डकी नदीको पानी सिँचाइको सुविधा पु¥याउन लिफ्टिङ भएसँगै तिरी गाउँका १८ घरधुरीका कृषकहरू प्रत्यक्ष लाभान्वित भएको जानकारी तिरी लिफ्टिङ सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष स्थानीय सानो कान्छा गुरुङले दिएका छन् ।
‘जिल्लाकै समग्रतामा हेर्दा यो कृषि क्षेत्रको रूपमा महत्वपूर्ण हबको रूपमा थियो, पछिल्लो समय यहाँ जलवायु परिवर्तनका कारण सिँचाइ मुहान सुक्दै जान थालेको छ,’ उपभोक्ता समिति अध्यक्ष गुरुङले भने, ‘प्रदेश सरकारको आर्थिक सहयोगबाट गरिएको लिफ्टिङ सिँचाइ प्रणालीले यहाँको पाँच सय रोपनी जमिनलाई सिँचाइ पुर्याउन सकिने भएको छ, यसले यहाँका स्थानीय कृषकलाई कृषि क्षेत्रमा जीविकोपार्जनका लागि ठूलो टेवा पुग्नेछ ।’
स्थानीय गुरुङले जोमसोम र कागबेनी नजिकै भएर पनि यहाँको तिरी गाउँ विकासका हिसाबले निकै पछाडि परेको दुःखेसो सुनाएका छन् । यहाँ कालिगण्डकी नदीमा पुल र कृषि सडकको विकास गर्न सरकारले चासो दिनुपर्ने सुझाव पनि दिएका छन् ।
यसैगरी, वारागुङ–४ का स्थानीय कृषक न्हर्बु गुरुङले यहाँका किसानको मुख्य आम्दानीको स्रोत भनेकै कृषि व्यवसाय भएको बताएका छन् । बर्सेनि हिउँदयाममा हिउँको भर र बर्खायाममा आकासे पानीको भर पर्नुपर्ने भएकाले यहाँका कृषकलाई निकै ठूलो सिँचाइको समस्या परेको उल्लेख गरेका छन् । प्रदेश सरकारको बजेटमा ढिलो भए पनि यहाँ लिफ्टिङ सिँचाइको पहुँच स्थापित गरिएकाले आफूहरूलाई निकै खुसी तुल्याएको स्थानीय गुरुङको भनाइ छ ।
यसअघि मुस्ताङको तिरी गाउँमा करिब तीन दर्जनभन्दा बढी बस्ती थियो । सिँचाइका लागि पानीको अभाव हुन थालेपछि एक दर्जनभन्दा बढी बस्ती अन्यत्र विस्थापित भइसकेका छन् । अहिले गाउँमा कालिगण्डकी नदीको पानी लिफ्टिङ गरी सिँचाइको सुविधा दिलाइएकोले तिरी गाउँको बस्ती विस्थापित हुन लाग्ने समस्याले समाधानको बाटो समातेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया