कांग्रेस कास्कीका पूर्व सभापति केसी ३ महिना र क्षेत्रीय सहसचिव श्रेष्ठ ६ महिनाका लागि पार्टीबाट निलम्बित

समाधान संवाददाता २०८२ असार २५ गते १७:५९

काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको आरोपमा कास्कीका पूर्व जिल्ला सभापति कृष्ण केसी र क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीलाई ३ महिना र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो। सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) र (ख) बमोजिम कारबाहीको निर्णय लिएको जनाएको छ।

Advertisement

विज्ञप्तिमा कास्की क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव श्रेष्ठलाई ६ महिना र निवर्तमान जिल्ला सभापति कृष्ण केसीलाई ३ महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।

समितिले केसी र श्रेष्ठसँगै अन्य जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई पनि कारबाही गरेको छ। चुनावमा अन्तर्घात गरेको आरोपमा तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विश्वकुमार राई र पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको छ।

Advertisement

त्यसैगरी, धनुषा, कैलाली लगायतका जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरूलाई पनि ६ महिनासम्मका लागि निलम्बन गरिएको छ। अनुशासन समितिले २०८२ असार १ गतेदेखि १७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टी उम्मेदवारलाई पराजित गराउने मनशायले सामाजिक सञ्जाल, अडियो/भिडियो लगायतका माध्यमबाट असहयोग गर्नेहरूमाथि छानबिन गरी कारबाहीको निर्णय लिएको जनाएको छ।


यो पनि पढ्नुहोस् ।
पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यबाट निष्कासित

तपाईको प्रतिक्रिया