निलम्बनपछि नेता कृष्ण केसीको प्रतिक्रिया : ‘मैदान छाड्दिनँ, २०८४ मा पुनः आमनेसामने हुनेछौं’

समाधान संवाददाता २०८२ असार २५ गते २०:०७

पोखरा । नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले पार्टीले आफूलाई गरेको निलम्बनपछि कडा प्रतिक्रिया दिएका छन्। गत चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको आरोपमा कांग्रेस अनुशासन समितिद्वारा ३ महिनाका लागि निलम्बित भएपछि केसीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै पार्टीभित्र निष्ठा र संघर्षको होइन, गुट र चाकडीको राजनीति हाबी भएको आरोप लगाएका छन्।

आफ्नो राजनीतिक मूल्याङ्कन संघर्षले नभई गुटबन्दीका आधारमा गरिएको भन्दै उनले निर्णय प्रक्रियामा संलग्न नेताहरूलाई व्यङ्ग्यात्मक धन्यवाद दिएका छन्। “नेपाली कांग्रेस कास्कीमा लामो समयदेखि निष्ठा, मिहिनेत र संघर्ष प्राथमिकतामा छैन, बरु नेता र गुटको चाकडी, अस्वाभाविक स्वार्थको साझेदारी नै प्राथमिकताको आधार बनेको छ,” केसीले भने, “मलाई निलम्बन गर्न सिफारिस गर्नेदेखि निरन्तर कारबाहीको माग गर्ने र तिनकै इसारामा निर्णय गर्ने नेता वर्गलाई धन्यवाद दिन चाहन्छु। कम्तीमा अब स्पस्ट भयो—राजनीतिक जीवनको मूल्यांकन सेवाले होइन, चाकडीले हुन्छ।”

आफ्नो राजनीतिक विगत सम्झँदै केसीले २०३६ सालको विद्यार्थी आन्दोलनदेखि हरेक मोर्चामा आफू होमिएको बताए। उनले भने, “झुट्टा मुद्दा खेपेँ, जेल गएँ, गोडा भाँचिए। माओवादी द्वन्द्वमा ज्यानको जोखिम मोलेर शान्तिको पक्षमा अडिएँ। ०५१ सालमा श्रीमती गुमाएर साना छोराछोरीसँग आँसु पुछ्दै पनि जनताको घरमा मत माग्न पुगेँ।” आफूलाई कुनै नेताले नभई जनताको विश्वासले नेता बनाएको उनको दाबी छ।

Advertisement

पार्टीबाट निकालिए पनि जनताको मनबाट आफूलाई कसैले निकाल्न नसक्ने बताउँदै उनले आफूले पार्टी र संगठनका नाममा गरेको योगदानको लेखाजोखा इतिहासले गर्ने बताए।

आफ्नो भविष्यको राजनीतिक यात्राबारे स्पष्ट पार्दै केसीले मैदान नछाड्ने उद्घोष गरेका छन्। “म मैदान छोड्दिन र भाग्दिन पनि,” उनले भने, “कसैले मलाई पार्टीबाट हटाएर आफ्नो सुरक्षित भविष्य खोज्नु भएको होला, तर २०८४ को चुनावी मैदानमा तपाईंहरू र म पुनः आमनेसामने हुनेछौँ।”

Advertisement

आफू जुनसुकै भूमिकामा रहे पनि कास्कीको सामाजिक, राजनीतिक र विकासको अभियानमा जीवनको अन्तिम साससम्म लागिरहने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया