स्याउ र आलु थन्क्याउन सरकारी साथ

सुन्दरकुमार थकाली २०८२ असार २९ गते १३:१३

जोमसोम ।
मुस्ताङका कृषकलाई अनुदान सहुलियतमा आलु र स्याउको पोस्ट हार्भेस्ट गर्दा चाहिने प्लास्टिकका बोरा र क्रेट वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जोनमा आवद्ध कृषकलाई बोरा र क्रेट वितरण गरेको हो ।


परियोजनाले आलु जोन कार्यक्रम अन्तर्गत ‘आलु जोन क्षेत्रमा पोस्ट हार्भेस्ट क्षति न्यूनीकरण’ शीर्षकमा यहाँका कृषकलाई अनुदानमा आलु र स्याउको पोस्ट हार्भेस्ट गर्दा चाहिने बोरा र क्रेट वितरण गरेको परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कार्यालय प्रमुख भरत गौतमले जानकारी दिए ।

‘आलु र स्याउको पोस्ट हार्भेस्ट गर्ने समय नजिकिँदै गरेको छ, यसैलाई मध्यनजर गरी जोनमा आवद्ध कृषकले बोरा र क्रेटको माग गर्नुभएको हो,’ कार्यालय प्रमुख गौतमले भने, ‘यो चालु वर्षको कार्यक्रम भएकाले हामीले यथाशीघ्र वितरण गर्नुपर्ने थियो, यसले कृषकलाई आलु र स्याउको पोस्ट हार्भेस्ट गर्नसमेत सघाउ पुर्‍याउनेछ ।’

Advertisement


परियोजनाले जोनमा आवद्ध यहाँका कृषकलाई ५० केजी अट्ने बोरा र २० केजी अट्ने प्लास्टिकको क्रेट ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सुर्खाङदेखि थासाङ गाउँपालिकाको टुकुचेसम्मका कृषकलाई आलु र स्याउको पोस्ट हार्भेस्ट गर्ने बोरा र क्रेट वितरण गरिएको उनले बताए ।

‘आलु जोन क्षेत्रमा पोस्ट हार्भेस्ट क्षति न्यूनीकरण’ शीर्षकमा यहाँका कृषकलाई अनुदानमा आलु र स्याउको पोस्ट हार्भेस्ट गर्दा चाहिने बोरा र क्रेट वितरण

Advertisement


यहाँका कृषकलाई १० हजार ६ सय ९८ वटा बोरा र ९ सय थान क्रेट वितरण गरिएको उनको भनाइ छ । परियोजनाद्वारा वितरण गरिएको पोस्ट हार्भेस्ट आलु थन्क्याउने प्रति बोराको मूल्य ४८ रहेकोमा सम्वन्धित कृषकले प्रतिबोरा २४ रुपैयाँ लागत साझेदारी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।


स्याउको पोस्ट हार्भेस्ट सामाग्री प्लास्टिकको प्रति क्रेटको मूल्य ६ सय रुपैयाँ रहेकोमा सम्बन्धित कृषकले ३ सय रुपैयाँ साझेदारी गर्नुपर्ने प्रावधान रहेको परियोजना कार्यान्वयन इकाइ मुस्ताङले उल्लेख गरेको छ ।


परियोजनाबाट कृषकलाई वितरण गरिएको आलु राख्ने बोरामा लेबलिङ गरिएको छ । आलु र स्याउको पोस्ट हार्भेस्ट गर्ने बेलामा कृषकको उत्पादनमा सकेसम्म कम क्षति गर्ने उद्देश्यले यहाँका कृषकलाई बोरा र क्रेट वितरण गरिएको हो । यहाँ यसरी वितरण गरिएको पोस्ट हार्भेस्ट सामग्री बोरा र क्रेटको माग गर्ने सबैभन्दा बढी घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषक छन् ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा स्याउ, आलु र च्यांग्रा जोन सञ्चालनमा रहेका छन् । यहाँका तीन वटै जोनमा आवद्ध कृषकलाई माग सिफारिसका आधारमा परियोजनाले पूर्वाधार निर्माण, कृषि तथा पशुपालन उपकरण, लगायत स्याउ खेतीमा चाहिने सबै प्रकारका सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको छ ।


यहाँको आलु र स्याउ खेती अनि पशुपालन व्यवसायलाई व्यवसायिककरण तथा आत्मनिर्भर तुल्याउँदै यहाँको कृषि र पशुपालन क्षेत्रको विकासमा परियोजनाले विभिन्न कार्यक्रम तर्जुमा गर्ने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया