एनआरएन क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहालको उम्मेदवारी, संस्था रूपान्तरणको प्रतिबद्धता

समाधान संवाददाता २०८२ असार ३० गते ६:३७

क्यालगरी, क्यानडा  ।

Advertisement

गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि समाजसेवी, शिक्षाविद् तथा व्यवसायी सन्तोष दाहालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनको उम्मेदवारीसँगै क्यानाडामा रहेका नेपाली समुदायमा नयाँ नेतृत्वमार्फत संस्थागत सुधार र एकताको अपेक्षा बढेको छ।

उम्मेदवारी घोषणा गर्दै दाहालले आफ्नो उम्मेदवारीलाई पदको आकांक्षाभन्दा पनि सेवाको जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनले संस्थालाई थप पारदर्शी, जवाफदेही र सदस्यमुखी बनाउन विभिन्न कार्यक्रम र योजना अघि सारेका छन्।

Advertisement

उनको मुख्य प्रतिबद्धतामा एनआरएन क्यानडालाई क्यानाडाको कर प्रशासन (CRA) अन्तर्गत दर्ता गराई ‘च्यारिटेबल संस्था’ मा रूपान्तरण गर्ने रहेको छ। यो कदमले संस्थालाई कर छुट, सरकारी अनुदान र साझेदारीका लागि योग्य बनाउँदै आर्थिक पारदर्शिता र स्थायित्व सुनिश्चित गर्ने उनको विश्वास छ।

दाहालले क्यानाडाका प्रमुख शहरहरूमा ‘टाउनहल’ कार्यक्रम आयोजना गरेर सदस्यहरूको सुझाव संकलन गर्ने र सोही आधारमा संस्थाको विधान परिमार्जन गर्ने योजना बनाएका छन्। यसले सदस्यहरूको आवाजलाई संस्थाको नीति निर्माणमा प्रतिविम्बित गराउने उनको भनाइ छ। साथै, नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गरी एनआरएन नागरिकताको व्यवहारिक कार्यान्वयनका लागि ठोस रणनीति र समयतालिका सहित विशेष पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

Advertisement

यसबाहेक, उनले विद्यार्थी र नयाँ आप्रवासीका लागि ‘ट्रान्जिसन हब’, नेपाली बालबालिकालाई भाषा र संस्कृति सिकाउन ‘हेरिटेज स्कूल’ र राहदानी नवीकरण जस्ता सेवा सहज बनाउन दूतावाससँगको सहकार्यमा ‘कन्सुलर सेवा क्याम्प’ सञ्चालन गर्ने बताए। आपतकालीन अवस्थामा सहयोग गर्न संस्थागत सहायता कोष स्थापना गर्ने योजना पनि उनको छ।

आफ्नो नेतृत्वलाई जवाफदेही बनाउन उनले ‘स्मार्ट’ लक्ष्य निर्धारण, वार्षिक रिपोर्ट कार्ड प्रकाशन, कार्यसम्पादन मूल्यांकन र बोर्ड बैठकको प्रत्यक्ष प्रसारणजस्ता पारदर्शी प्रणाली लागू गर्ने उल्लेख गरेका छन्। संस्थाको दिगो सञ्चालनका लागि संघीय, प्रान्तीय सरकार तथा निजी क्षेत्रसँग साझेदारी गरेर परियोजनामा आधारित लगानी भित्र्याउने उनको दीर्घकालीन योजना छ।

तपाईको प्रतिक्रिया