शिक्षण अस्पताललाई भाटभटेनीका गुरुङको साढे ९ करोडको भवन उपहार

समाधान संवाददाता २०८२ असार ३० गते १७:२५

पोखरा । भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना दिवंगत आमाबुबा वृषबहादुर र धनमाया गुरुङको सम्झनामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई एक अत्याधुनिक भवन प्रदान गरेका छन्। महाराजगञ्जस्थित अस्पताल परिसरमा साढे ९ करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन गुरुङले अस्पताललाई हस्तान्तरण गरेका हुन्।

अस्पतालको ४३औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित भवनको उद्घाटन गरे। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङको यस परोपकारी कार्यको उच्च प्रशंसा गरे। उनले गुरुङ दम्पतीले जनताको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानलाई उदाहरणीय भन्दै धन्यवाद दिए।

प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीलाई ‘दानवीर’ को संज्ञा दिँदै उनीहरूको यो सहयोगले आम नेपालीको स्वास्थ्योपचारमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले सरकारको ‘निरोगी नेपाल’ अभियानलाई सफल पार्न नागरिकहरूले आफ्नो आहार, विहार र व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिँदै बिरामी परेको खण्डमा सबैलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताए।

Advertisement

कार्यक्रममा बोल्दै भाटभटेनीका अध्यक्ष गुरुङले आफू र आफ्नो संस्था सधैं राष्ट्र र जनताको निःस्वार्थ सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई साकार पार्न भाटभटेनीले अग्रपंक्तिमा रहेर सहयोग गर्ने बताउँदै उनले यो भवन हस्तान्तरण गर्न पाएकोमा आफूलाई अत्यन्तै हर्ष लागेको अनुभव सुनाए।

यो भाटभटेनीले शिक्षण अस्पताललाई गरेको पहिलो सहयोग भने होइन। यसअघि वि.सं. २०६८ मा पनि गुरुङले १० करोड रुपैयाँको लागतमा अस्पतालको आकस्मिक सेवा भवन निर्माण गरिदिएका थिए। भाटभटेनी सुपरस्टोरले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परोपकारी कार्यहरूमा निरन्तर सक्रियता देखाउँदै आएको छ।

Advertisement

तपाईको प्रतिक्रिया