बन्दीपुर केबलकारको आइपिओ साउन ६ देखि आउने

समाधान संवाददाता २०८२ असार ३१ गते १३:०६

पोखरा ।
बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको आइपिओ निष्काशन गर्न लागेको हो ।

Advertisement


कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोन) ले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको छ । जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।


सो सेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

Advertisement

यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४ सय कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो ।


सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ४ गते हुनेछ । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुनेछ ।

Advertisement


पहिलो चरणको आइपिओ निष्काशन र बाँडफाँडपश्चात कम्पनीले पुनः सर्वसाधरणका लागि निष्काशन गर्ने छ । आइपिओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष छ ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणालीमार्फत वा सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया