विद्यालय अध्यक्षलाई कालो मसी छ्याप्ने नेकपा (बहुमत)का नेतासहित ३ जना पक्राउ

पोखरा ।
पोखरास्थित श्री छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का एक केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारका साथै आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा समेत अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार बिहान करिब ८:४५ बजे पोखरा-१७, छोरेपाटनस्थित राजमहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ६७ वर्षीय बद्री पहारीलाई दुई जना अपरिचित व्यक्तिले अनुहारमा कालो मसी छर्केर फरार भएका थिए ।
घटनाको सूचना पाएलगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनाका मुख्य योजनाकार भनिएका नेकपा (बहुमत)का ब्यूरो केन्द्रीय सदस्य लोकेन्द्र विश्वकर्मा (सुजन आयम) लाई मंगलबार नै पोखरा-९, नयाँबजारबाट नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी, घटनामा भौतिक रूपमा संलग्न भई कालो मसी छ्याप्ने नेपाल क्रान्तिकारी विद्यार्थी संघ, गण्डकी प्रदेशका संयोजक राजन साउद र सोही संगठनका कास्की जिल्ला संयोजक वासुदेव बुढालाई प्रहरीले बुधबार पोखराको प्रस्याङ र जिरो किलोमिटरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ‘अभद्र व्यवहार’ मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । साथै, उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ बमोजिम ‘आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने’ कसुरमा समेत कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा शंकास्पद सामग्री बरामद गरेको छ, जसले घटना जबरजस्ती चन्दा असुलीसँग जोडिएको संकेत गर्छ । बरामद गरिएका सामानहरूमा विभिन्न व्यक्ति तथा संस्थाबाट रकम उठाएको अर्धकट्टीसहित अखिल (क्रान्तिकारी) र नेकपा (बहुमत)का नाममा रहेका चन्दा रसिदका ठेलीहरू छन् । यसैगरी, छोरेपाटन माविका प्रधानाध्यापकलाई सम्बोधन गरिएको पत्र, विभिन्न कार्यालयलाई आर्थिक सहयोग माग्दै लेखिएका ६० थान पत्र, पार्टीका प्रतिवेदन, विधान, माइन्युट, ब्यानर, र ३ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।








काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया