घुस प्रकरणमा मुछिएका गुप्ता पदमुक्त, तनहुँकी भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

समाधान संवाददाता २०८२ असार ३१ गते १७:५८

काठमाडौं

एक ठेकेदारसँग करोडौं रुपैयाँ घुस मागेको अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्तालाई पदमुक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) की सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा, मन्त्री गुप्ताले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएपछि रिक्त पदमा नवनियुक्त मन्त्री न्यौपानेलाई धारा ७६ को उपधारा (९) अनुसार जिम्मेवारी तोकिएको उल्लेख छ।

गुप्ताको विवादास्पद बहिर्गमन

Advertisement

निवर्तमान मन्त्री गुप्ता पदबाट हट्नुको मुख्य कारण हालै सार्वजनिक भएको एक अडियो टेप हो। उक्त अडियोमा गुप्ताको भनिएको स्वरमा एक ठेकेदारसँग पोखराको १३५ रोपनी जमिनको छुट दर्ता मिलाइदिन कमिसनको वार्ता गरेको सुनिन्छ ।

अडियो सार्वजनिक भएपछि सरकार र पार्टी (एमाले) माथि चौतर्फी दबाब बढेको थियो। सुरुमा अडियो आफ्नो नभएको र प्रविधि प्रयोग गरेर बदनाम गर्न खोजिएको दाबी गरेका गुप्तामाथि राजीनामा दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेतृत्वले दबाब दिएको थियो। पार्टीको प्रतिष्ठामा आँच पुगेको र सरकारको छविमा समेत नकारात्मक असर परेको भन्दै एमालेले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो, जसपछि उनले राजीनामा दिएका हुन्।

Advertisement

को हुन् नवनियुक्त मन्त्री न्यौपाने?

नवनियुक्त मन्त्री भगवती न्यौपाने नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य हुन्। उनी एमालेभित्र लामो समयदेखि सक्रिय नेतृका रूपमा चिनिन्छिन्। पार्टीको विद्यार्थी संगठनदेखि विभिन्न तहमा काम गरेको अनुभव उनीसँग छ।

न्यौपाने २०७५ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकको मेयरको उम्मेदवारसमेत थिइन् । तर त्यसबेला उनी विजयी बन्न सकिनन् ।

तपाईको प्रतिक्रिया