कफी कपिंग ल्याब उद्घाटन

समाधान संवाददाता २०७६ मंसिर २४ गते १३:४७

समाधान संवाददाता
पोखरा

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा कफी कपिंङ ल्याब स्थापना गरेको छ । कफीको स्वाद र गुणस्तर परीक्षण गरी कफी बजारलाई थप प्रतिस्पर्धी एवं गुणस्तरीय बनाई नेपाली कफीलाई उच्चस्तरीय बनाउने उद्देश्यले ल्याब स्थापना गरिएको हो । ल्याब गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार उद्घाटन गरे ।

कार्यक्रम उद्घाटनपछि मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले कृषि क्षेत्र र मुख्य नगदे बाली चिया, कफी र अलैंचीलाई प्राथमिकतामा राखेको बताए । कफी किसानलाई ठोस कार्यक्रम बनाएर आफूसँग समन्वय गर्न आग्रह गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराले उत्पादन र गुणस्तर प्रविधि सँगसँगै काम गरेकोमा खुसी व्यक्त गरे । उनले किसानलाई व्यासायिक कृषिमा लाग्न आग्रह गरे ।

Advertisement

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देदक दीपक खनालले बोर्डले न्यून बजेट र स्रोत, साधनका बीच नेपालमा कफी विस्तार गरी उत्पादन वृद्धिमा स्थानीय पालिका र प्रदेशसँग समन्वय गर्दै कार्यक्रम अगाडि बढाएको बताए । नेपालको जम्मा उत्पादन ५ सय ३० मेट्रिक टन रहेको र नेपालमा करिब १२ लाख हेक्टरमा कफी खेती गर्न सकिने उनको भनाइ थियो ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. विष्णु बरालले प्रदेशको नीति तथा योजनामा व्यावसायिक कफी खेती मुख्य प्राथमिकतामा रहेको र सोही अनुरुप बजेट विनियोजन भएको उल्लेख गरे । पोखरा मनपाका प्रवक्ता धनबहादुर नेपालीले कफी कपिंग ल्याब पोखरा मनपाको पनि १ मुख्य गहना भएकाले यसको संरक्षणमा लाग्नु हामी सबैको दायित्व भएको बताए ।

Advertisement

यसैबीच एउटा बोटमा सबैभन्दा बढी कफी फलाउने अन्नपूर्ण १ ढिकुरपोखरीका किसान आनन्द अधिकारीलाई सम्मान गरिएको छ । उनले प्रतिबोट १ सय २० केजी कफी फलाएका थिए ।

बोर्डका कार्यकारी निर्देशक खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरी र सञ्चालन नगेन्द्र सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया