बेगनासताललाई पर्यटकीय गन्तव्य बनाउन मुख्यमन्त्री पाण्डेको जोड

समाधान संवाददाता २०८२ साउन १ गते १५:३७

पोखरा ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेगनास ताललाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका–३१ मा रहेकाे बेगनास ताल परिसरमा निर्मित वराह क्षेत्र, वराहथान, पञ्चायन देवता, लक्ष्मी नारायण मन्दिरको उद्घाटन गर्दै उनले बेगनास ताललाई सौन्दर्य कुञ्जका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

स्थानीय जनचाहनाअनुसार धार्मिक र पर्यटकीय दृष्टिकोणले यस क्षेत्रको विकास गर्न सकिने बताउँदै उनले यसबाट आर्थिक आयआर्जन र पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्ने बताए । तालको संरक्षण, अतिक्रमणको रोकथाम तथा गुरुयोजनाअनुसार विकास गर्न उनले स्थानीयलाई आग्रह गरे ।

पोखरालाई ‘पर्यटकीय हब’ बनाउने अभियानमा बेगनास तालको विशेष भूमिका रहेको उल्लेख गर्दै उनले ताल क्षेत्रका व्यवसायहरू आधुनिकीकरणतर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।

Advertisement

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले बेगनास ताल क्षेत्रलाई ‘ज्ञानको भूमि’का रुपमा विकास गर्न सकिने बताए । धार्मिक ग्रन्थअनुसार ऋषिमुनि च्यवनले यहीँ योग तथा साधना गरेको उल्लेख गर्दै उनले यहाँको धार्मिक र पर्यटकीय प्रवर्द्धनको सम्भावना औँल्याए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वराह क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व उल्लेख गर्दै यस क्षेत्रको विकासले समग्र गण्डकी प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

वडा नं ३१ का अध्यक्ष ढकनाथ कँडेलले सर्वसाधारणका लागि वराह क्षेत्र खुला गरिएको जानकारी दिए । वराह क्षेत्रलाई संस्कृति, प्रकृति र प्रविधिसँग जोडेर पर्यटनको प्रमुख गन्तव्य बनाउन उनले आग्रह गरे । तत्कालीन लेखनाथ नगरपालिकाले तयार गरेको विस्तृत आयोजना प्रतिवेदनअनुसार काम अगाडि बढाइएको उनले जानकारी दिए ।

वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले लेखनाथका तालहरुको संरक्षण गर्नु पर्ने बताउँदै यस क्षेत्रका तालहरुको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारको ध्यानकर्षण गराए । वडा अध्यक्ष थापाले यस क्षेत्रको विकासका लागि सकारात्मक सोचका साथ सबै एज जुट हुनुपर्नेमा जोड दिंदै आगामी दिनमा बेगनासतालको संरक्षण र सम्बद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव वसन्तराज तिवारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, धार्मिक व्यक्तित्व ध्रुवनाथ अधिकारी, निर्माण समितिका निवर्तमान अध्यक्ष सुरेन्द्रराज सापकोटा र सचिव श्रीराम कँडेललगायतले बेगनास तालको पर्यटकीय महत्वलाई उजागर गर्न नवनिर्मित वराह मन्दिरसहितका पूर्वाधार महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया