
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ बगरमा गण्डकी प्रज्ञा प्रतिष्ठानको कार्यालय जाने बाटैमा एउटा झुपडी छ । दिनभरी शान्त रहने झुपडी जसै घडीको सुईंमा अपरान्हको ३ बज्छ, चहलपहल सुरु हुन्छ । चिया, आलु चप र तरकारीको बास्ना सडकसम्मै पुग्छ ।
७८ वर्षीया गणेशा थापाले झुपडीमा ३ दशकदेखि खाजा पकाउँदै आएकी छन् । वृद्धावस्था प्रवेश गरिसकेकी थापा अझै काम गर्न सक्छिन् । हरेक दिन उनलाई खाजा पकाउन भ्याइनभ्याइ हुन्छ । जम्मा २५ रुपैयाँमा टन्न खाजा खान पाइने भएकाले भीड हुन्छ ।
१० रुपैयाँमा चिया बेच्ने गरेको उनले बताइन् । आलु चप ५ र तरकारीलाई १० रुपैयाँ पर्छ । यहाँको आलु चप फरक स्वादको हुने गाह्रकको प्रतिक्रिया छ । ‘चिया बेचेर कति आम्दानी हुन्छ । कति घाटा हुन्छ, हिसाबकिताब राख्दिनँ । भगवानको कृपाले खान लाउन पुगेको छ । खाएर पैसा नदिए पनि केही भन्दिनँ । कसैको भोको पेट नरहोस् भन्ने चाहन्छु,’ थापाले भनिन् ।
चिया बेचेर कति आम्दानी हुन्छ, कति घाटा हुन्छ हिसाबकिताब राख्दिनँ । खानलाउन पुगेको छ ।
उनको पसल सस्तो खाजामात्रै होइन, सेवा, माया र आत्मसन्तोषको थलो पनि हो । उनले पैसाभन्दा ठूलो मानवता मानेकी छन् । फाइदा कमाउने उद्देश्यले पसल खोलेकी होइनन् उनले । पोखरा दीपमा घर भए पनि झुपडी छोड्न मन नलागेको थापा सुनाउँछिन् ।
अभावको बेलामा साथ दिएको ठाउँलाई सुख पाएपछि वेवास्ता गर्न मन मान्दैन । संर्घषमै जीवन बिताएकी उनी सफलता पाए पनि, आराम र सन्तोषले जीवन बिताउने समयमा उनी कम पैसामा खाजा खुवाउन लागिपरेकी छन् ।

‘४ सय रुपैयाँ ऋण लिएर २०४७ सालतिर पसल खोलेको । त्यस बेला १ रुपैयाँ कप चिया बेच्थे । ३ रुपैयाँमा चाउचाउ पाइन्थ्यो, अहिले २० पुगेको छ, उनी भन्छिन्, ‘महंगी बढेको छ तर म चिया, खाजाको मूल्य बढाउन सक्दिनँ ।’ भोकोलाई खान खवाउनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने उनलाई लाग्छ ।
चिया खाऊ, कप चपाऊ
पृथ्वीनारायण क्याम्पस गेट नजिकैको चिया पसलले धेरैको ध्यान तानेको छ । कारण चियाको स्वादले मात्र होइन—चिया पिउने कप पनि खान मिल्ने भएकाले । पसलको नाम हो ‘चिया चपाउ’ ।
चियासँगै कप पनि चपाउन मिल्छ । कप चपाउने रमाइलो नामजस्तै, यसको सुरुवातको कथा पनि रोचक छ । पोखरा विश्वविद्यालयमा उद्यमशीलता विषयमा स्नातक अध्ययनरत मञ्जु तिवारी, स्तुति थापा, नम्रता पौडेल र यनिका भट्टराईले कलेजको आठौं सेमेस्टरमा प्रयोगात्मक व्यवसायका रुपमा यो सुरु गरेका हुन् ।

‘चिया चपाउ’ सुरु भएको भोलिपल्टै टिकटकमा भाइरल भएको मञ्जुले सुनाइन् । त्यसपछि पसलमा चिया चपाउनेको भीड बढ्न थाल्यो । चिया, स्वाद, र इनोभेटिभ आइडियाले ‘चिया चपाउ’लाई छोटो समयमै लोकप्रीय बनायो । पोखराको चिया बजारमा नयाँ स्वाद र सोच ल्याएको ‘चिया चपाउ’ उद्यमशीलताको जीवन्त उदाहरण बनेको छ ।
सानो लगानी र फरक सोचले आत्मनिर्भर बन्न सकिन्छ ।
इलाइँची, चक्लेट र भेनिला फ्लेवरमा इडिबल कपमा चिया पाइने उनले जानकारी दिइन् । ‘प्रतिकप ६०–६५ रुपैयाँ पर्छ । दिनमा ५०–१३० वटासम्म चिया बिक्री हुन्छ । चिया राखिएका कप ३० मिनेटभित्र खाइसक्नुपर्छ, नत्र कप पग्लिन्छ । कप भारतबाट मगाउछौं,’ तिवारीले भनिन् ।
आइडिया र आत्मविश्वास भए नेपालमा धेरै सम्भावना रहेको उनको बुझाइ छ । सानो लगानी र फरक सोचले आत्मनिर्भर बन्न सकिने उनी बताउँछिन् । चार जना मिलेर सुरु गरिएको पसल ६ महिनाको कलेजको प्रयोगात्मक कक्षाकोे हिस्सा हो । तर एक जनाले भए पनि निरन्तरता दिने योजनाका साथ सञ्चालन गरिएको थापाको भनाइ छ । ‘चिया बेचेर धेरै नाफा होइन, अनुभव, आत्मविश्वास र उद्यमशीलताको अनुभव लिएका छौं,’ उनी भन्छिन् ।

बाँसको घरमा १४ थरी स्वाद
पोखराको सृजनाचोकबाट ओरालो झर्दै गर्दा रत्नचोकमा दायाँ साइडतिर बाँस र खरबाट बनाइएको आर्कषक चिया संसार देखिन्छ । जहाँ १४ प्रकारका चियाको स्वाद चाख्न पाइन्छ । ४ जना मिलेर सञ्चालन गरेको ‘चिया संसार’ चिया पारखीको उत्कृष्ट गन्तव्य हो ।
यहाँ चियाको स्वादसँगै, बहस गर्ने, भावना साटासाट गर्ने ठाउँ बन्ने भएकाले यसको नाम ‘चिया संसार’ राखिएको सञ्चालक हिक्मतजंग कार्कीले सुनाए । चिया नेपाली संस्कृति भएकाले मौलिकता झल्काउन बाँस र खरबाट घर बनाइएको कार्कीले बताए ।
‘म, सागर खत्री, सन्दिप शर्मा पौडेल र सागर कार्की मिलेर सञ्चालन गरेका हौं । सुरुमा त हामी भेट्ने, छलफल, रमाइलो गर्ने ठाउँ बनाउने योजना बनाएका थियौं,’ कार्कीले भने, ‘अहिले व्यवसायमा परिणत भएको छ । नेपाली चिया र संस्कृतिलाई विश्वमा चिनाउने लक्ष्य छ ।’

‘चिया संसार’ले चियासँगै साथीबिचको सम्बन्ध, सपना र भविष्यको योजना पनि बेचिरहेको छ ।
उनीहरु चारै जागिरे हुन् । कोही बैंकर, कोहि इन्जिनियर । ‘चिया संसार’लाई उनीहरुले आफ्नो नयाँ पहिचान बनाउन खोजेका छन् । ‘चिया संसार’ले चियासँगै साथीबिचको सम्बन्ध, सपना र भविष्यको योजना पनि बेचिरहेको छ ।
दक्ष जनशक्तिका् अभाव चुनौतीको रुपमा रहेको कार्कीले गुनासो पोखे । व्यवसाय सोचेभन्दा धेरै राम्रो चलेको कार्कीको अनुभव छ । चियाप्रति युवाको बढ्दो आकर्षणले उनी आशावादी देखिन्छन् । उनी भन्छन्, ‘युवामा चियाप्रति रुचि छैन जस्तो लाग्थ्यो तर होइन रहेछ । यस्ता ठाउँ नभएर रहेछ । चिया पिउन युवा धेरै आउनुहुन्छ । यहाँ मसला, अदुवा मट्का लगायतका चिया पाइन्छन् ।’

क्यारामेलाइज्ड टी अर्थात भुटेको चिया
शिवराज अधिकारीको बाल्यकालका मीठो सम्झनोमध्य विशेषमा पर्छ हजुरआमाको चिया । त्यो चिया सामान्य भए पनि यसको स्वाद उनले अझै भुल्न सकेका छैनन् । हजुरआमा चियापत्ति नभएको समयमा चिनी पगालेर चिया पकाउथिइन् । न चियापत्ति आवश्यक, न मसला मिसाउने झन्झट तर स्वाद भने अविस्मरणीय ।
सानैदेखि चियाका सौखिन अधिकारी चिया चाख्न बुटवलका धेरै चिया पसल पुगेका थिए । तर जहाँ पनि त्यही मसालेदार चिया (कटिङ टि) मात्र पाइने भएकाले उनलाई फरक स्वादको अभाव महसुस भयो । लामो समयको खोजपछि मौलिक स्वाद र हजुरआमाको परम्परागत तरिकालाई आधुनिक रुप दिएर ‘क्यारामेलाइज्ड टी’ अर्थात ‘भुटेको चिया’ सञ्चालन गर्ने योजना फुरेको अधिकारीको सुनाए ।
मौलिक स्वाद र हजुरआमाको परम्परागत तरिकाबाट बन्छ क्यारामेलाइज्ड टी ।
पोखराको नदीपुरमा १ वर्षदेखि ‘भुटेको चिया’ सञ्चालनमा छ । भुटेको चिया, मट्का अदुवा मरिच अलैंची, तुल्सी लगायतका चिया यहाँ पाइन्छन् । भुटेको चियालाई २५ रुपैयाँ पर्छ । यहाँ खाजा पनि पाइन्छ । अंग्रेजीमा ‘क्यारामेलाइज्ड टी’ भन्दा आकर्षक नलाग्ने भएकाले सरल र नेपालीपन झल्किने नाम ‘भुटेको चिया’ नाम राखिएको उनले रमाइलो प्रसंग सुनाए । ‘भुटेको चिया’ पोखरामा ब्रान्ड भइसकेको छ ।
अधिकारी भन्छन्, ‘चिया व्यवसाय फराकिलो बन्दै गएको छ तर केहि वर्षपछि चियाप्रति आर्कषण घट्न सक्छ । ट्रेन्डलाई पछ्याएर गरिने व्यवसायको आयु छोटो हुन्छ । निरन्तरताका लागि नयाँ सोच र दिगो योजना आवश्यक छ । उपभोक्तका रुचिलाई ध्यानमा राखेर अघि बढेमा सफल हुन सकिन्छ ।
गण्डकीमा ५० हजार किलो चिया उत्पादन हुन सक्छ
नगेन्द्र सुवेदी, कृषि प्राविधिक
चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखरा
गण्डकी प्रदेशमा भौगोलिक हिसाबले चिया खेतीको राम्रो सम्भावना भएको क्षेत्र हो । कास्की र लमजुङमा गुणस्तरीय चिया उत्पादन गर्न सकिन्छ । सम्भावना हुँदा पनि चिया खेतीमा अपेक्षित प्रगति हुन सकेको छैन । धेरै ठाउँमा चियाखेती गरिएको छ तर त्यसको समुचित व्यवस्थापन, संरक्षण र स्याहारमा ध्यान दिइएको छैन । विरुवा लगाएर छाड्ने प्रवृति छ । विरुवा सरेपछि सजिलै नमर्ने भएकाले पनि विरुवा लगाउँछन् ।
प्राविधिक जनशक्ति अभाव ठूलो चुनौती बनेको छ । पूर्वी नेपालबाट कामदार ल्याउनु महँगो पर्छ, उनीहरुले माग गरे जति पारिश्रमिक दिन पनि सकिँदैन । चिया टिप्न विशेष सीप आवश्यक पर्छ, जुन स्थानीय स्तरमा अभाव छ । अझ ठूलो समस्या त चिया प्रशोधनमा छ । गुणस्तरीय प्रशोधनका लागि उच्चस्तरीय सीप र प्रविधिको चाहिन्छ ।
बागलुङ, म्याग्दी, तनहुँ र गोरखामा चियाखेती विस्तारको सम्भावना छ । देशको कुल क्षेत्रफलको २–३ प्रतिशत भूभाग चिया खेती गर्न सकिने भए पनि उत्पादन ०.५ प्रतिशतमात्र भएको छ । जुन निकै कम हो । कास्कीको माछापुच्छ«े गाउँपालिका ७ ल्वाङ गाउँमा चियाखेती सफल भएको छ । तर, उत्पादन भइसकेपछि पनि टिप्न सक्ने दक्ष जनशक्ति नहुँदा त्यसको सदुपयोग हुन सकेको छैन ।
यहाँ २ हजार किलो अर्थाेडक्स चिया उत्पादन हुन्छ । ८० प्रतिशत भारत निर्यात हुन्छ । गण्डकीमा ५० हजार किलोसम्म अर्थाेडक्स चिया उत्पादन हुन सक्ने सम्भावना छ । ग्रीन टि पनि राम्रो उत्पादन हुन सक्छ । चिया खेतीलाई व्यवस्थित रुपमा प्रवद्र्धन गरियो भने गण्डकीलाई अर्थाेडक्स चियामा आत्मनिर्भर बनाउन सकिन्छ ।



प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया