मुस्ताङमा साइकल ट्रेल निर्माण

सुन्दरकुमार थकाली २०८२ साउन २ गते १६:०६

जोमसोम ।
मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साहसिक ‘पर्वतीय हाईअल्टिच्युड’ साइकल ट्रेल निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको आव २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विनियोजित बीस लाख बजेट खर्चिएर (जोमसोम–धार्काजुङ) करिब ८ किलोमिटर दूरीमा साहसिक ‘पर्वतीय उचाइको हाईअल्टिच्युड साइकल ट्रेल’ निर्माण गरिएको हो ।


पर्यटन तथा उद्योग कार्यालयले यहाँको पर्यटकीय गन्तव्य तथा पर्यटकीय पूर्वाधारहरूको संरक्षण, स्तरोन्नति तथा प्रचारप्रसार लगायतका क्षेत्रमा कार्य गरिरहेको जनाइएको छ । यहाँको पर्यटन विकास, पर्यटन प्रवद्र्धनका साथै यहाँ भित्रिने पर्यटकहरूको बसाइ लम्ब्याउने र पर्वतीय क्षेत्रको वातावरणीय स्वच्छतासँग पर्यटकहरूलाई आनन्दित तुल्याउने उद्देश्यले साहसिक पर्वतीय हाईअल्टिच्युड साइकल ट्रेल निर्माण गरिएको कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिए ।


पर्यटन तथा उद्योग कार्यालयको बजेटमा जोमसोम र धार्काजुङको संयुक्त उपभोक्ता समिति मार्फत त्यहाँ साहसिक पर्वतीय हाईअल्टिच्युड साइकल ट्रेल निर्माण गरिएको हो । साविक जिल्ला विकास समितिले निर्माण गरी अलपत्र पारेर प्रयोगविहीन जीर्ण अवस्थामा रहेको जोमसोमदेखि ढल्केडाँडासम्मको सडक मर्मतसम्भार तथा स्तरोन्नति गरिएको र ढल्केडाँडादेखि धार्काजुङसम्म नयाँ साइकल ट्रेल निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख पौडेलले बताए ।

Advertisement

४ हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल


साविकको पुरानो बाटोको स्तरोन्नति र नयाँ दुई किमि सडकमा ट्र्याक ओपन गरी ट्रेल निर्माण सम्पन्न भएको हो । ट्रेल निर्माणका लागि सुख्खावाल, ग्याबिन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुईवटा फलामे पुलको व्यवस्थापन गरिएको छ ।
यहाँको साहसिक पर्वतीय हाईअल्टिच्युड निर्माणसँगै यहाँ आउने साइक्लिङ पर्यटकले जोमसोम–कागबेनी हाइवे सडक प्रयोग नगरी सिधै धार्काजुङ हुँदै मुस्ताङ–डोल्पासम्मको साइकल यात्रा गर्ने छोटो दूरीको मार्ग बनेको छ ।

Advertisement

यहाँ सवारी साधन गुड्ने सडकमा धुवाँ र धुलोको सास्ती व्यहोर्दै साइकल ट्रेल तथा पैदल ट्रेल गर्न रुचाउने पर्यटकका लागि पनि यहाँ निर्माण गरिएको साइकल ट्रेलले वैकल्पिक पदमार्ग तथा साइकल मार्गको रूपमा योगदान पु¥याउने कार्यालय प्रमुख प्रेम पौडेलले उल्लेख गरे ।


समुद्री सतहको करिब ४ हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्य र पर्वतीय उच्च उचाइको बेग्लै अनुभूति गर्न सक्नेछन् । यहाँको पर्वतीय हाईअल्टिच्युड साइकल ट्रेल हुँदै ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङका विभिन्न क्षेत्रहरूको दृश्यावलोकन गर्न सकिने कार्यालय प्रमुख पौडेलले बताए ।

यहाँको ट्रेल रहेको ढल्केडाँडाबाट निलगिरि र धौलागिरि हिमाल, कालिगण्डकी करिडोर, स्याउ बगैँचा र जोमसोम लगायतका बस्ती मनमोहक देखिन्छ । कार्यालय प्रमुख पौडेलले सानो आकारको बजेटले साहसिक हाईअल्टिच्युड साइकल ट्रेल निर्माण गरिएको भए पनि यसले यहाँको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने दाबी गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया