मुस्ताङमा ७ लाख ५ हजार पर्यटक भित्रिए

सुन्दरकुमार थकाली २०८२ साउन २ गते १६:११

जोमसोम ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जाने थालेपछि हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा अप्रत्याशित रूपमा वृद्धि भइरहेको पाइएको छ । यहाँको सडकमार्ग तथा हवाई मार्ग सहज भएकाले मुस्ताङ भ्रमण गर्नेको संख्यामा अपेक्षाकृत रूपमा वृद्धि भएको हो ।


यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको हो । हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्वपूर्ण धार्मिक पर्यटक गन्तब्यका रूपमा अंग्रपंक्तिमा पर्दछन् ।

यसैगरी मुस्ताङका सदियौं वर्ष पुराना ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित दर्जनौं गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया र यहाँको पृथक–पृथक प्रकारको भू–बनाबट लगायतका कारण मुस्ताङमा आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

Advertisement


राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग, यहाँका स्याउ बगान, जैविक सम्पदा र मनमोहक हिमशृंखला लगायतका कारण मुस्ताङ जिल्लामा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको हो ।


मुस्ताङमा एक वर्ष ७ लाख ५ हजार ७७९ जना आन्तरिक तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जसमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक छन् ।

Advertisement


आ.व. २०८०/०८१ मा यहाँ चार लाख ५४ हजार ३२६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएकोमा आ.व. २०८१/०८२ मा त्यो संख्या बढेर ७ लाख नाघेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । यहाँ आ.व. २०८०/०८१ को तुलनामा आ.व. २०८१/०८२ सालमा दुई लाख ५१ हजार ४५३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो संख्या ५३ दशमलव ३ प्रतिशतले वृद्धि भएको उनले उल्लेख गरे ।


आ.व. २०८१/०८२ को साउनदेखि असारसम्ममा पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आव २०८०/०८१ मा तीन लाख ५४ हजार ९२७ जना आन्तरिक पर्यटक भित्रिएकोमा आ.व. २०८१/०८२ मा त्योसंख्यामा दुई लाख ३३९ जना आन्तरिक पर्यटकको संख्या वृद्धि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।


यसैगरी आ.व. २०८०/०८१ मा उनान्नसय हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकोमा आ.व. २०८१/०८२ मा त्योसंख्यामा एकाउन्न हजार ५४ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया