अन्नपूर्ण गाउँपालिकाले प्रशासकीय भवन छिटै बनाउने
सामुदायिक विद्यालय सुधारमा पालिकाको सक्रियता

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकासका कार्यक्रमबारे सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा पालिकावासीले खुलेर गुनासो र सुझाव राखे भने पालिकाले सुनुवाइमा उठेका कतिपय विषयहरूमा काम सुरु भइसकेको र जनगुनासोलाई भावी नीति निर्माणको आधार बनाउने स्पष्ट पारेको छ ।
विभिन्न वडाबाट आएका स्थानीयले सिमेन्ट थन्किएको, चिकित्सकको अभाव, बजेटको उपयोग, पूर्वाधार निर्माण, लक्षित वर्गका योजना, सार्वजनिक जग्गाको उपयोग नभएको, पारदर्शिता र मापदण्डको कमी जस्ता गुनासोहरू राखे । यस्ता गुनासोलाई पालिकाले गम्भीरतासाथ लिएको र समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले स्रोत र कानुनी सीमाभित्र रहेर काम भइरहेको बताए । उनले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि चाँडै शिलान्यास गरिने जानकारी दिए । अध्यक्ष केसीले साना व्यवसाय प्रवद्र्धन र सुरक्षित आप्रवासन कार्यक्रमबाट रोजगारी र सामाजिक सुरक्षामा सहयोग भइरहेको स्पष्ट पारे । उनले सामुदायिक विद्यालय सुधारमा पालिकाको सक्रियता बढिरहेको समेत बताए ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र गरिब वर्गका लागि नयाँ योजना ल्याइने बताइन् । उनले नागरिक गुनासो सुन्ने मात्र नभई गुनासाहरूको व्यवहारिक समाधान गर्ने प्रतिबद्धता जनाइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहितको तेस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा ११ वटै वडाका कामहरू प्रस्तुत गरिएको थियो । जसअनुसार पालिकाले आव २०८१/०८२ मा १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र प्राविधिक शाखाबाट आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय कामहरू सम्पन्न भएका छन् । वृद्ध नागरिकदेखि दलित बालबालिकासम्मका लागि सामाजिक सुरक्षाको व्यवस्था गरिँदा, प्राविधिक योजनामार्फत आधारभूत पूर्वाधार विकासमा पनि जोड दिइएको छ ।
प्राविधिक शाखाको तर्फबाट २०८१/०८२ मा ८ वटा योजना टेन्डर भएकोमा ७ वटा योजना सम्पन्न भएका छन् भने एउटा योजनाको म्याद थप भएको छ । यस्तै कृषि र स्वास्थ्य क्षेत्रमा चुनौतीका बीच पनि महत्वपूर्ण उपलब्धि हासिल गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय डण्डपानी भण्डारीले वडा कार्यालयअगाडि लामो समयदेखि थंकिएका सिमेन्टका बोराहरूको विषय उठाउँदै विकास योजनामा ढिलासुस्ती र जनप्रतिनिधिको उपस्थिति अभावप्रति असन्तुष्टि व्यक्त गरे । मुना भण्डारीले सार्वजनिक जग्गाको सदुपयोग नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा स्थानीयहरू मनहरी भण्डारी, जोमाया देवकोटा, ऋषिराम भण्डारीलगायतले गुनासा तथा सुझावहरू राखेका थिए । माछापुच्छ्रे माविका व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीले सामुदायिक विद्यालय सुधारमा पालिका, शिक्षक, अभिभावक र समुदायको भूमिकाको महत्त्वबारे धारणा राखे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार सागर ढकालले प्रस्तुत गरेको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा पालिकाको सेवा प्रवाहप्रति स्थानीय सामान्यतः सन्तुष्ट देखिएका छन् । उनले अधिकांश सेवाग्राहीले कर्मचारीको व्यवहार सकारात्मक भएको बताए भने केही सेवामा थप सुधार आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा टिपोटकर्ता श्रीभद्र पौडेलले सार्वजनिक सुनुवाइले सुशासन र पारदर्शिता प्रवद्र्धनमा सहयोग पु¥याउने धारणा राख्दै जनप्रतिनिधिले जनभावनाअनुसार जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए ।
स्थानीय संवाद, सुझाव तथा प्रश्नहरूलाई प्राथमिकतामा राख्दै बुधबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–२ नम्बर वडाध्यक्ष पीताम्बर भण्डारीले स्वागत र पत्रकार इन्द्रप्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया