बाढीका बेला सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

समाधान संवाददाता २०८२ साउन ३ गते १७:१५

काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतर्कता बिन्दु पार गर्न सक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारीस्वरूप सतर्कता अपनाउन आग्रह गरेको हो ।

Advertisement

इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदानप्रदान गर्दै आएको छ ।’ विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।

पूर्वी नेपालमा कोसी, तामोर, अरुण, तामाकोसी, दूधकोसी, कनकाईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ । कोसी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । साउन ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्लो तटीय क्षेत्र प्रभावित हुने र साउन ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना उच्च हुने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्यपहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ ।’
साथै पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना भएको र महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि साउन ५ गते मध्याह्नसम्म बढी सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै इप्पानले जानकारी दिएको छ ।

मौसमसम्बन्धी पूर्वसूचनाहरू लिएर इप्पानमा आबद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ ।

गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको घटनाका साथै विगतका वर्षहरूमा पनि बाढीपहिरोले जलविद्युत् आयोजना निर्माणमा संलग्न धेरै कर्मचारीहरूले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौंसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया