‘आमा’ : एक समर्पित कथा, संवेदना र मञ्चीय काव्यको संगम

‘आमा’ नाटकका लेखक/निर्देशक नारायण न्यौपाने मेरा सहपाठी हुन्, अहिले सहकर्मी । हामी पोखरा आदर्श माध्यमिक विद्यालयमा हरेक दिन बिहान १० बजेसम्म विविध विषयमा कुराकानी गर्न थालेको पनि ४ वर्ष भइसकेछ । साथीको गजबको रुचि छ – साइकल चलाएर एक्लै कुश्मा, बाग्लुङ पुग्छन्, १७/१८ वर्षे ठिटाहरुसँग फुटसल खेल्छन्, सिनेमा, किताबप्रति लगाव राख्छन्, आफूले पढेका कविताका भावमा छलफल गर्न ‘फसाउँछन्’ ।
काठमाडौं बस्दा विज्ञ प्राध्यापक, लेखक, नाट्यकर्मीसँग संगतले होला उनी प्रदर्शनकारी कलामा काम गर्न खोज्छन् । अघिल्लो वर्ष राजु स्याङ्तानका कवितालाई मिलाएर उनले तयार गरेको नाटक हेरेपछि उनको ‘आमा’ हेर्न धेरै नै अपेक्षा लिएको थिएँ । त्यसै क्रममा बन्धुले ‘आज नै आउनु पर्छ । नाटकपछि तिम्रो सुझाव महत्त्वपूर्ण हुन्छ ।’ भनेपछि म हौसिएर ५ः१५ मा पोखरा थिएटर पुगेँ ।
शुक्रबारबाट सुरु भएको ‘आमा — जसको समर्पण र ममता शाश्वत छ’ मैले पहिलो दिन करिब २ दर्जन आमाहरूसँग हेर्ने मौका प्राप्त गरेँ । नाटकले मेरो समस्त अनुभूतिको गहिराइ हल्लायो । त्यो केवल नाटक थिएन, त्यो मेरा हृदयभित्र कहीँ थन्किएको स्मृति, पीडा र मायाको पुनरावृत्ति थियो भन्ने लाग्यो ।
कथावस्तु – एक सामान्य आमाको असामान्य कथा
मलाई यहाँ कथा पुरै लेखेर नाटक हेर्न जानेलाई पूर्वानुमान गर्न सक्ने बनाउनु छैन । कथावस्तु साधारण छ तर प्रस्तुति रोमाञ्चक लाग्यो । नाटक एउटी आमाको जीवनयात्रा हो – बालापनदेखि मृत्युशैय्या सम्म । तर त्यसलाई जसरी तीन कालखण्डमा विभाजन गरियो, प्रतीकात्मक पात्र र दृश्य प्रयोग गरियो, त्यो प्रस्तुति असाधारण लाग्यो । आमाको प्रतीक्षा केवल समयको पर्खाइ होइन, त्यो सम्झनाको गहिरो दलदल थियो – जसमा बाँचिरहेकी आमा हरपल अल्झिरहन्छिन् ।
नाटकले समाजमा आमाको भूमिकालाई पनि पुनर्परिभाषित गरेको पाएँ । यो नाटकले केवल सन्तानप्रतिको प्रेम होइन, आफ्नै जीवनप्रतिको एक आमा–पात्रको मौन प्रतिरोध र प्रश्नलाई उजागर गर्छ र सम्भावित उत्तरको खोजीमा दर्शकलाई पु¥याउँछ । विशेषगरी आजको सन्दर्भमा, जब हजारौं युवा परदेशिन्छन्, अनि आमा–बुबा एक्लिँदै जान्छन् — यो नाटकले त्यो मौनतालाई शब्द दिएको छ । विदेशिन तयार भएका युवाहरू अभिमन्युको रुपमा प्रस्तुत गरिएको छ अर्थात् उनीहरू चक्रव्यूह तोड्न सक्षम छन् तर फिर्ता आउन सक्दैनन् ।
कलाकारको अभिनय – संवेदना भर्ने जीवित प्रस्तुतिहरु
फूलमायाको तीन अवस्थाका पात्रहरू (बाल्यकाल, युवावस्था, वृद्धावस्था) लाई क्रिस्टि गुरुङको सरल अभिनयले नाटकलाई गति दिएको छ । युवावस्थाकी फूलमाया – मायालु पत्नी र समर्पित आमाको दोधारमा – कहिलेकाहीँ मौनतामा पनि गहिरो सन्देश दिइरहेकी थिइन् । वृद्धावस्थाकी फूलमायाले भने सम्पूर्ण प्रस्तुति आत्मसात् गरेर पीडाको पात्र जिउँदो गराइन् । क्रिस्टिको संवादभन्दा पनि उनको आँखाको मौनताले ज्यादा बोलिरहेको थियो ।
फूलमायाको आमाबुबाको रूपमा देखिएका शीतल अधिकारी र धनकाजी श्रेष्ठ स्वाभाविक देखिन्छन् । फूलमायाको श्रीमान् – सिद्धार्थको रूपमा रमेशबाबु तिमिल्सिनाले न्याय गरेका छन् । उनी जनयुद्धको समयमा शान्ति खोज्ने पात्र हुन् । निर्देशक न्यौपानेले उनलाई फूलमायाको सपनामा गौतम बुद्धको रूपमा प्रस्तुत गर्दा दर्शक दंग पर्छन् । दुवै पात्रमा रमेशले गजबको काम गरेका छन् । त्यस्तै गरी अभिमन्यु, फूलमायाको छोरा, सुसन पौडेल नाटकको क्लाइमेक्समा छोटो समयका लागि आउँछन् तर व्यापक प्रभाव छोड्न सकेका छन् ।
तीर्थ श्रेष्ठका ‘आमा’ विषयवस्तुमा केन्द्रित ५ कवितालाई पात्रहरूले कविताजसरी होइन, बरु मोनोलगको रुपमा बोल्दा कथावस्तुलाई बल दिएको छ ।
सपना फूलमायाले आफूसँगै राख्ने गुडिया हुन् । तर निर्देशक न्यौपानेले उनलाई पनि सजीव रूपमा देखाउन अञ्जली शाहीलाई मञ्चमा उतारेका छन् । अञ्जलीले कठिन कार्यलाई प्रतीकात्मक तरिकाले पूरा गरेकी छन् । विशेषतः उनले मौन भावद्वारा फूलमायाको अन्तरमनको आवाज प्रस्तुत गरिन् । उनको भौतिकीकृत उपस्थिति मार्मिक थियो । अन्य सहायक पात्रहरू – सर्प, धर्साहरू, गाउँले, बुढा आमाबुबाको रूपमा श्रीकृष्ण भण्डारी, सृष्टि पंगेनी, राहुल श्रेष्ठले आफूप्रति साँचो रहेर अभिनय गरे ।
यसरी नाटकमा यी कलाकारहरूले केवल समयको परिवर्तन होइन, मानसिक अवस्थाको परिपक्वता पनि देखाउँछन् । फूलमाया सधैँ एकै चरित्र हो, तर परिस्थितिहरूमा फरक–फरक रूपमा प्रतिक्रिया दिने पात्रका रूपमा विकसित हुन्छिन् । ‘सपना’ जसरी खेलौना गुडियाबाट एउटा स्वतन्त्र अस्तित्वमा परिणत हुन्छिन्, त्यो पात्र विकासको उत्कृष्ट उदाहरण हो ।
निर्देशन – मौनतालाई भाषामा बदल्ने कला
नारायण न्यौपानेको निर्देशनमा अत्यन्तै सन्तुलन देखिन्छ । नाट्य–गति अत्यधिक तीव्र थियो । हरेक दृश्यलाई श्वास लिन दिइएको कम समयले मौन रूपमा आमाको परिस्थितिलाई देखाएको महसुस गरेको थिएँ । विशेष दृश्यहरूमा मौनतालाई शक्ति बनाइएको पनि थियो । उदाहरणका लागि, जब जब फूलमाया कसैलाई कुर्छिन्, सजीव सपना उनको नजिक चुपचाप टुलुटुलु हेर्छिन् — त्यो क्षण शब्दले होइन, दृष्टिकोणले बोलेको महसुस हरेक दर्शकले गर्न सक्छ ।
सियो, उनको स्वेटर, उनको डल्लो, सिलाइ मेसिन, पुरानो डायरी, सपना गुडिया, झुन्डिएको धागो – यी सबै प्रोप्स नाटकको कथावस्तुसँग संवाद गरिरहेका थिए । न्यून साधन प्रयोग गरेर ठूलो अर्थ निकाल्ने प्रयास नाटकको अर्को सफलता हो । भित्तामा फाटेका धर्साहरू (चिराहरू) लाई प्रकाशको माध्यमबाट चरित्रीकरण गरिनु – एउटा सानो तर सशक्त दृश्यीय प्रयोग थियो ।
बन्धु आफै भन्छन्, ‘यस नाटकमा प्रयोग भएका ‘गुडिया’, ‘धर्सा’ र ‘धागा’ जस्ता प्रतीकहरू केवल दृश्य सजावट होइनन् – तिनलाई मैले सकेसम्म हाम्रो आन्तरिक मनोविज्ञानका अभिव्यक्तिहरू बनाउन खोजेको छु । ‘सपना’ फूलमायाको अधुरो रहर हो, ‘धर्सा’ समाज र सम्बन्धमा परेका चिरा हुन्, र ‘धागा’ त्यो सम्बन्धको बाँधाइ जसलाई आमाले कहिलै चुँडिन दिँदिनन् ।’
सेट, प्रकाश र ध्वनि–संगीत डिजाइन – प्रतीकात्मकताको व्यवस्थापन
तीर्थ श्रेष्ठका ‘आमा’ विषयवस्तुमा केन्द्रित ५ कवितालाई पात्रहरूले कविताजसरी होइन, बरु मोनोलगको रूपमा बोल्दा कथावस्तुलाई बल दिएको छ । त्यस्तै गरी कथालाई आत्मा दिन संयोजन गरिएको संगीतको प्रयोग सस्तो भावुकतामा सीमित थिएन । बरु दृश्यअनुसारको ध्वनि बनोटले कथाको लयमा गति थप्यो ।
रेडियोको आवाज र टेलिभिजनको दृश्यले कथामा पात्रको उमेरसँगै नेपाली समाजको विकासलाई सहजताको साथ देखाएको छ भने पञ्चेबाजा, रत्यौलीको आवाज, न्यानोपन दिने धुन, सपनामा सर्प आउँदाको डरलाग्दो आवाज, अनि काव्यात्मक पाश्र्व संगीत – सबैले समग्र वातावरणलाई सपना र यथार्थबीचको पुल बनाएको थियो ।
मञ्चको तीनवटा खण्डः बाल्यकाल, वर्तमान र स्मृतिका ठाउँहरू छुट्याइएका थिए, तर उनीहरूबीचको प्रवाह अविरल थियो । मञ्चमा बारम्बार देखिने ‘धागो’हरू – जीवन र सम्बन्धका बाँध – र ‘झुल्किँदै हराउने सपना’हरूले सेटलाई मनोवैज्ञानिक आयाम थपेका थिए ।
दृश्यभाषालाई उजागर गर्ने संयोजन गरिएको प्रकाशको प्रयोग अर्थपूर्ण थियो । मौनता र प्रतीकात्मकता प्रधान नाटकमा प्रकाशको प्रयोग अत्यन्त महत्त्वपूर्ण हुन्छ । यहाँ प्रयोग गरिएको मधुरो, कहिलेकाहीँ छायामूलक प्रकाशले पात्रहरूको मनस्थिति प्रतिबिम्बित गर्न सहयोग पुर्यायो । विशेषतः, सपना र फूलमायाको अन्तिम दृश्यमा उनीहरूको छायाँ मिसिने क्रम – त्यो दृश्यले मभित्रै काँपिएको महसुस गरायो । त्यस्तै गरी फूलमायाले आफ्नो श्रीमान् सम्झिँदा उनको फोटोको साटो उनको श्रीमानको छायाँ प्रयोग गरिएको अझ गजब लाग्यो ।
नाट्यकृति पूर्ण हुँदैन – ‘आमा’ नाटक अपवाद होइन
संवेदनशील, प्रतीकात्मक र भावनात्मक नाटकको प्रशंसा गर्नु जायज छ, तर कुनै पनि नाट्यकृति पूर्ण हुँदैन । त्यसै कारण त अभ्यास गरिरहिन्छ । यस नाटकमा ध्वनि, प्रकाश र सेट डिजाइनमा राम्रा प्रयोग भए तापनि, कतिपय दृश्यहरूमा प्रकाशले पात्रको अनुहार नदेखिने वा संवाद स्पष्ट नआउने स्थिति देखा परेको थियो । ‘पहिलो दिन भएर होला’ भनी उम्किन पाइँदैन, प्राविधिक रिहर्सलमा अझ बढी समय खर्च गर्दा नाटकमा थप निखार आउँथ्यो ।
नाटकले आमाको समर्पण, पर्खाइ, पीडा र ममता अत्यन्त मार्मिक रुपमा प्रस्तुत गर्छ । तर कतिपय दृश्यहरूमा अत्यधिक भावनात्मकता दर्शकलाई थकाइलाग्दो बनाउन सक्छ । केही क्षणहरूमा नाटकले दर्शकलाई स्वाभाविक रूपमा अनुभूति गर्न नदिई, पीडा थोपर्ने प्रयास गरेको जस्तो लाग्न सक्छ । केही दृश्यहरूमा भावनात्मक ‘ब्रेक’ राख्दा सन्तुलन मिल्थ्यो, जसले संवेदना अझ गहिरो हुन्थ्यो ।
धर्साहरू, सपना (गुडियाको रुपमा), धागो, प्रकाश प्रयोग आदि प्रतीकात्मकता शक्तिशाली थिए । तर सबै दर्शकले ती प्रतीक बुझ्न सक्छन् भन्ने ग्यारेन्टी छैन । केही दर्शकहरूले यी दृश्यलाई ‘अर्थहीन नाच’ वा ‘अप्रासंगिक गतिविधि’ सम्झन सक्ने खतरा हुन्छ ।
यी कमजोरीहरू नाटकको कलात्मक मूल्य घटाउने होइनन्, बरु सुधारको सम्भावना देखाउने संकेत हुन् । ‘आमा’ नाटकले नेपाली समाजको गहिरो सत्य बोल्छ — त्यसलाई अझ धेरै दर्शकसम्म पुर्याउन यी बिन्दुहरूमा ध्यान दिइयो भने, आगामी मञ्चनहरू अझ प्रभावशाली बन्न सक्छन् ।
निष्कर्ष – नाटकले केवल मन छोएन, मनभित्रको पीडा उजागर गर्यो
यस नाटक मञ्चनको समयमा आमा मञ्चमा हुँदा दर्शकदीर्घामा पनि अनेक फूलमायाहरू थिए — आफ्ना सपनाहरू बिर्सिएर सन्तानप्रतिको समर्पणमा रमाइरहेकी आमाहरु । सामान्य संवाद, प्रतीकात्मक दृश्यहरू, गहिरो निर्देशन र न्यानो संगीतको सुमधुर संयोजनले यो नाटकलाई एक गहिरो संवेदनात्मक यात्रा बनाएको छ – जुन हेरेर मात्र होइन, महसुस गरेर जीवनभर सम्झनलायक हुन्छ ।










टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया