कास्की प्रहरीद्वारा वर्षदिनमा ८०४ फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गएको आर्थिक वर्षमा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सयभन्दा बढी प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ८ सय ४ जना फरार प्रतिवादी पक्राउ परेका हुन्, जसबाट राज्यले १० करोड रुपैयाँभन्दा बढी जरिवाना असुल गर्नेछ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरी बहादुर वस्नेतका अनुसार, आर्थिक वर्ष २०८१/८२ (२०८१ साउन १ देखि २०८२ असार मसान्तसम्म) को अवधिमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट खटिएको टोलीले उक्त सफलता हात पारेको हो। पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय महिला छन्।
विभिन्न अपराधमा संलग्न भई सम्मानित अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरी लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि कास्की जिल्ला अदालतमा बुझाइएको डिएसपी वस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार, पक्राउ परेका प्रतिवादीहरूबाट कुल ६१ वर्ष २ महिना १५ दिन कैद सजाय भुक्तान गराइनेछ। यसैगरी, उनीहरूबाट १० करोड, १२ लाख १ हजार ३ सय ७१ जरिवानासमेत असुलउपर हुनेछ।
लामो समयदेखि फरार रहेका अपराधीहरू पक्राउ पर्न थालेपछि समाजमा कानुनी शासनको प्रत्याभूति हुनुका साथै अपराध नियन्त्रणमा समेत सकारात्मक प्रभाव पर्ने प्रहरीले विश्वास लिएको छ। कास्की प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया