गोरखा दरबार संग्रहालय १ लाख २२ हजार पर्यटकद्वारा अवलोकन   

समाधान संवाददाता २०८२ साउन ५ गते ५:४६

गोरखा । गोरखा दरबार संग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले संग्रहालयको अध्ययन तथा अवलोकन गरेको संग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए ।

     
 आव २०८०/८१ मा एक लाख १९ हजार १८७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । उहाँले भन्नुभयो, ‘‘पछिल्लो तथ्याङ्क हेर्दा सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।’’ गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।    
    
 सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् ।    
    
 उनका अनुसार संग्रहालयका खुला गरिएदेखि हालसम्मको तथ्यांकमा यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । विसं २०६५ मा संग्रहालय सर्वसाधारण र पर्यटकका लागि खुला गरिएको थियो ।    
    
 सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।    
    

करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।    
    
 सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

Advertisement

तपाईको प्रतिक्रिया