नेता केसीको कारबाही फुकुवा गर्न कांग्रेस प्रदेश समितिको माग, निर्णय नसच्याए क्षति हुने चेतावनी

समाधान संवाददाता २०८२ साउन ५ गते १५:३५

पोखरा। नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायतमाथि भएको कारबाही बिनासर्त फुकुवा गर्न पार्टीका नेता तथा कार्यकर्ताले माग गरेका छन्। कांग्रेस अनुशासन आयोगको कारबाहीलाई अनुपयुक्त, विरोधाभासपूर्ण, व्यक्ति केन्द्रित र राजनीतिक प्रतिशोधपूर्ण भन्दै पार्टीका नेता, कार्यकर्ता र भ्रातृ संगठनका पदाधिकारीले तत्काल बिनासर्त फुकुवा गर्न माग गरेका छन्।

यसैबीच, नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) को प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पूर्ण बैठकबाट निर्णय गर्दै केन्द्रीय अनुशासन समितिलाई पत्र लेखेर कारबाहीप्रति गम्भीर आपत्ति जनाएको छ। समितिका सभापति कृष्णप्रसाद कोइराला र पदाधिकारीसहित २८ जनाले हस्ताक्षर गरेको पत्रमा उक्त कारबाहीलाई पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भन्दै गम्भीर आपत्ति जनाइएको छ।

पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र सांगठनिक मर्यादाको विपरीत प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दीको प्रभावमा २०८१ असार २५ गते केन्द्रीय संयोजक आनन्द ढुंगानाको नाममा प्रेषित अनुशासनको कारबाही गरिएको घटनाले सम्पूर्ण पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोशित बनाएको छ।’

Advertisement

विशेषतः कास्कीका निवर्तमान सभापति नेता कृष्ण केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का र भावना श्रेष्ठ लगायतका नेता, कार्यकर्तामाथि गरिएको कारबाहीले नेपालको ठूलो र पुरानो पार्टीप्रति जनतामा वितृष्णा बढाएको पत्रमा उल्लेख छ। नजिकिँदै गरेको १५ औं महाधिवेशन तथा आम निर्वाचनको समयमा विगत ३ वर्ष अगाडि भएको निर्वाचनको विषयलाई लिएर हाल आएर भएको अन्यायपूर्ण निलम्बनले कांग्रेसमा गुट र अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको बताइएको छ।

पत्रमा पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्ति विशेषका आन्तरिक स्वार्थ र सत्ता लोलुपताले प्रभावित भई कारबाही गरिएकोमा गम्भीर आपत्ति जनाइएको छ।

Advertisement

कारबाहीको विरुद्धमा पत्रमा अगाडि लेखिएको छ, ‘सो निर्णयले पार्टी नीति, विधान र लोकतान्त्रिक मूल्यहरूमाथि प्रहार गरेको छ। पार्टीका शुभचिन्तक र विभिन्न समितिहरूले यो निर्णय फिर्ता लिन माग गर्दै नेता कृष्ण केसी लगायत माथिको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गरियोस्। निष्पक्ष छानबिन र आन्तरिक लोकतन्त्र सुनिश्चित गरियोस्। यो कारबाही पूर्वाग्रही, अन्यायपूर्ण र संगठनको एकतामाथिको चोट हो।’

पार्टीको एकता र सिद्धान्त जोगाउन निर्णय तत्काल सच्याइनुपर्नेमा जोड दिँदै पत्रको अन्त्यमा भनिएको छ, ‘निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुन्छ र विपक्षी बलियो हुने निश्चित छ। न्याय र एकताको पक्षमा हामी एक छौँ। निर्णय नसच्याइए जिल्ला संगठनलाई ठूलो क्षति हुनेछ।’

तपाईको प्रतिक्रिया