फाइभ-जी संचालनमा ढिलाइ नगर्न मन्त्री गुरुङको निर्देशन

समाधान संवाददाता २०८२ साउन ६ गते १८:३९

काठमाडौं ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ-जी नेटवर्क संचालन गर्न नेपाल टेलिकम र नेपाल दूर संचार प्राधिकरणलाई निर्देशन दिएका छन्।

Advertisement

मन्त्रालयमा आज आयोजित एनटिसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर-जी विस्तार व्यापक बनाउँदै फाइभ-जी नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन्।

आफू मन्त्री भएलगत्तै पटक-पटक फाइभ-जी नेटवर्क सुरु गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दुःखद विषय भएको बताए। उनले अब भने चाँडोभन्दा चाँडो नेटवर्क विस्तार गर्नुपर्ने बताए।

Advertisement

छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु पर्याप्त नरहेको स्पष्ट पारे। उनले फोर-जी नेटवर्क हरेक जनताका घरघरमा पुर्‍याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए। साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने र डिजिटल सुशासन कायम गर्न चुनौती देखापर्ने हुँदा दूर संचार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङले आग्रह गरे।

त्यसैगरी उनले राजमार्गमा देखापर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटीए र एनटिसीलाई ध्यानाकर्षण गराए। जहाँ जनतालाई अत्यन्त नेटवर्कको जरुरी हुन्छ, त्यहाँ सेवा विस्तारमा चनाखो हुन पनि मन्त्री गुरुङले जोड दिए।

पर्यटन प्रवर्द्धन गर्न इन्टरनेट र टेलिफोन सुविधाको अत्यन्त जरुरी हुने उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटकीय गन्तव्यमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गरे। ‘जहाँ जनतालाई अति आवश्यक पर्छ, त्यहाँ एनटिसी पुग्नुपर्छ’, उनले भने, ‘यो वर्ष फाइभ-जी लन्च छिट्टै गर्नुपर्छ।’ उनले नेपाल टेलिकमको प्रचारप्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा प्रचार गरेर एनटिसीबारे जनतालाई सुसूचित गराउन अनुरोध गरे।

छलफलमा संचार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने अनुरोध गरिन्। उनले सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्ययोजनासमेत बनाउन निर्देशन दिइन्। ‘सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्ने युवालाई हौसला दिने खालका गतिविधि समेत समेट्नुपर्छ’, सचिव अर्यालले भनिन्, ‘यस्ता कार्यक्रम राख्नु समयको मागसँगै राज्यको दायित्व पनि हो।’

एनटीएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ-जी नेटवर्क संचालन गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए। अब केही समयमै बोलपत्र प्रक्रिया थालनी गरेर नेटवर्क विस्तार गर्ने उनले बताए। एनटिसीका निमित्त प्रबन्ध निर्देशक सविना मास्के (प्रधान) ले पनि फोर-जी विस्तार निरन्तर कार्य भइरहेको र फाइभ-जी लन्च गर्ने तयारीमा जुटेको बताइन्।

तपाईको प्रतिक्रिया