मेरो सदस्यता नवीकरण कसैले रोक्न सक्दैन, म विचलित हुन्नँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं ।
पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय लिएकोमा गम्भीर आपत्ति जनाउँदै आफूलाई राजनीति गर्नबाट कसैले रोक्न नसक्ने चेतावनी दिएकी छन्। पार्टी केन्द्रीय कमिटीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनले पार्टीको निर्णयलाई ‘अपरिपक्व’ र ‘दुःखद’को संज्ञा दिएकी हुन्।
भण्डारीले आफ्नो संवैधानिक अधिकार र राजनीतिक स्वतन्त्रतालाई संकुचन गर्ने गरी गरिएको निर्णयले पार्टीको साख र प्रतिष्ठामाथि नै आघात पुऱ्याएको बताएकी छन्। “आफ्नो निर्णयबाट म विचलित हुने छैन,” पत्रकार सम्मेलनमा उनले भनिन्, “म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु।”
ओलीसँगको भेटपछि पनि निर्णय फरक आयो
पूर्वराष्ट्रपति भण्डारीले आफूले विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरेको र यस विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन नै ‘सौहार्दपूर्ण’ छलफल भएको खुलासा गरेकी छन्। “मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ,” उनले भनिन्, “यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा विज्ञप्तीबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।”
राजनीति गर्नु मेरो संवैधानिक अधिकार
भण्डारीले आफू एक राजनीतिक व्यक्ति भएकै कारण राष्ट्रपति निर्वाचित भएको र पदमुक्त भएपछि पुनः राजनीतिमा फर्कनु स्वाभाविक भएको तर्क गरेकी छन्। उनले नेपालको संविधानले नै प्रत्येक नागरिकलाई राजनीतिक दलमा आबद्ध हुने अधिकार दिएको स्मरण गराउँदै भनिन्, “यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो। संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन।”
उनले आफूमा कुनै पदको लालसा, महत्वाकांक्षा र आशक्ति नरहेको स्पष्ट पार्दै आफ्नो एकमात्र उद्देश्य पार्टीको सदस्य बनेर देश र जनताको सेवा गर्नु रहेको बताइन्। “किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,” उनले थपिन्।
जबज र पार्टी निर्माणको सिद्धान्तविपरीत निर्णय
भण्डारीले पार्टीको निर्णय जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त र जनवादी केन्द्रीयताको मान्यताविपरीत भएको आरोप लगाएकी छन्। “आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न सकिँदैन,” उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।
४५ वर्षदेखिको पार्टी सदस्य र यो पार्टी निर्माणमा आफ्नो रगत, पसिना र मिहिनेतसमेत परेको भावनात्मक कुरा राख्दै उनले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न नमिल्ने जिकिर गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीको यो कडा विज्ञप्तिले नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति संघर्ष सतहमा आएको संकेत गरेको छ। उनको यो चेतावनीयुक्त अभिव्यक्तिले पार्टीको आगामी राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया