गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

समाधान संवाददाता २०८२ साउन १० गते १०:१९

पोखरा । नेपाली कांग्रेसका अग्रज नेता, गण्डकी प्रदेशका पूर्व प्रमुख एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरुङको चितवनको भरतपुर महानगरपालिका-२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरुङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाए । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी वि.सं. २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब ३ वर्ष जेल जीवनसमेत बिताए ।

गुरुङ नेपाली राजनीतिमा निष्ठा, त्याग र सादगीका पर्याय मानिन्थे । पद र शक्तिको लोभ नगरी जीवनभर लोकतन्त्र र पार्टी संगठनप्रति  समर्पित रहनु उनको विशिष्ट पहिचान थियो। उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र पछि दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका भएका थिए ।

Advertisement

राजनीतिक जीवनको उत्तरार्धमा उनले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रमुख जस्तो गरिमामय संवैधानिक पदको जिम्मेवारी सम्हाले । प्रदेश प्रमुखको भूमिकामा रहँदा उनले आफ्नो निष्पक्ष र सन्तुलित छविलाई कायम राखेका थिए ।

प्रदेश प्रमुखको जिम्मेवारीबाट बाहिरिएलगत्तै उनलाई क्यान्सर रोग निदान भएको थियो। त्यसपछि भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन। पछिल्लो समय उनलाई दिव्यनगरस्थित निवासमै आरामका लागि राखिएको थियो।

आइतबार बिहान चितवनकै देवघाटमा अन्त्येष्ठि गरिने भएको छ ।

उनको निधनले नेपाली कांग्रेसले एक अभिभावक एवं निष्ठावान नेता गुमाएको छ भने देशले लोकतान्त्रिक आन्दोलनको एक इमानदार सिपाही गुमाएको छ। उनको स्वच्छ छवि र त्यागपूर्ण राजनीतिक जीवन सबैका लागि सधैं प्रेरणाको स्रोत बनिरहने कांग्रेसका नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया