उमेरले छेक्दैन अध्ययनको भोक

समाधान संवाददाता २०७६ मंसिर २९ गते १४:२८

समाधान संवाददाता
पोखरा

जब कसैलाई अध्ययनको भोक लाग्छ, तब मान्छे आफैंदेखि विद्रोह सुरु गर्छ । समाजले के भन्ला; कसो भन्ला, त्यसभन्दा पर राखेर सोच्न थाल्छ । यसको ज्वलन्त उदाहरण हुन् ः शान्ता चौधरी र करिश्मा मानन्धर हुन् ।

जीवनको मध्य भागमा उभिएर स्कुले जीवन सुरु गरेका दुवैजना आ आफ्नो क्षेत्रमा सफल छन् । सानै उमेरदेखि कला क्षेत्रमा लागेका कारण करिश्मा मानन्धर औपचारिक शिक्षालाई निरन्तरता दिन पाइनन् । शान्ता चौधरी अहिले संविधान सभाको सदस्य छिन् । तर, उनको जीवन १८ वर्ष अर्का लागि बित्यो । अर्थात् जमिनदारको घरमा कमैया भएर ।

Advertisement

८ वर्षदेखि कमैया बसेकी चौधरीले १८ वर्षसम्म साहुकै आँगनमा बिताइन् । मनमा पढ्ने रहर भए पनि साहुको छोराछोरी पढेको देखेर चित्त बुझाउनुपर्ने अवस्था थियो । अध्ययनको भोकले उनलाई सताइरह्यो । त्यसैले साहुका छोराछोरीले पढेको लुकीलुकी हेरेर आफू पनि सिकिन् । उनीसँग लेख्नलाई कलम थिएन, उनले भाँडा माझ्दा निस्केको अँगारले पहिलो अक्षर लेखिन्, ‘क’ ।

‘जमिनदारको छोराछोरीले झोला बोकेको मलाई पनि खुब रहर लाग्थ्यो । तर, के गर्ने आफू त भाँडा माझ्ने । तर, त्यही भाँडा माझ्दा बचेको कोइलाले अक्षर देख्न सिकें,’ पोखरामा जारी ८ औं नेपाल लिटरेचर फेस्टिबल ‘अध्ययनको भोक’ सेसनमा सविना कार्कीसँग चौधरीले अनुभव सुनाइन्, ‘तर मनमा सानैदेखि अध्ययनको भोक मभित्र लुकेर बसेको थियो । त्यही भोकले अध्ययन बढाएँ ।’

Advertisement

२०६२÷६३ सालको जनआन्दोलनपछि उनले १८ वर्षको पिँजडाबाट मुक्ति पाइन् । लगत्तै उनले संविधान सभाको चुनावमा तत्कालीन एमालेबाट टिकट पाइन् र संविधानसभा सदस्य भएर काठमाडौं लागिन् ।

‘म संविधान सभा सदस्य भए पनि त्यहाँ पुग्दा केही जान्दैनथेँ । एक्लो भएको फिल भयो,’ चौधरीले सुनाइन्, ‘तर पछि मलाई औैंठा छाप भनियो । त्यसले मलाई धेरै दुख लाग्यो र पढ्नुपर्छ भन्ने लाग्यो ।’ अब उनको एउटै लक्ष्य छ, पिएचडी गर्ने ।

संविधानसभा भवनमा अरु माननीयले पत्रिका पढेको देखेर चौधरीलाई पनि रहरले सताउँथ्यो । तर, अक्षर त कहाँ चिन्थिन् र उनी । ‘पत्रिका बोकेँ । अक्षर पढिनँ । चित्र हेरेर बस्थें,’ उनले भनिन्, ‘संविधानसभा भवनमा जाँदा अरु माननीयलाई सलाम ठोक्थे । तर, मलाई भने झोला पूरै चेक गरेरमात्रै भित्र पठाउँथे ।’ प्रतिनिधिसभा सदस्य हुँदा आफ्नै समितिले गरेका निर्णय पनि पढ्न नजानेको तीतो यथार्थ उनले सुनाइन् ।

१४ वर्षदेखि कला क्षेत्रमा लागेकी करिश्मा मानन्धर आफ्नो क्षेत्रमा व्यस्त भएका कारण पढाइलाई निरन्तरता दिन सकिनन् । तर, लामो समयको अन्तरालपछि कक्षा ८ देखि फेरि पढाइलाई निरन्तरता दिइन् । एसइई पनि पास गरिन् ।

आफ्नो जीवनका मध्य भागमा अध्ययनका लागि कक्षा कोठामा जाँदा ‘अड’ महसुस गरेको उनले सुनाइन् । ‘आज यो एजमा जब स्कुल गएँ । त्यसपछि पनि हीनताबोधका कुरा नआएका होइनन् । खराब मानसिकता बोकेकाले कहिल्यै असल सोच्दैनन्,’ सेसन सहजीकरण गरिरहेकी सविना कार्कीसँग भनिन्, ‘रहर ग्रहण गर्ने क्षमता आफूमा हुनुपर्छ । प्रहारले नछुने भन्ने हुँदैन । त्यसैले क्षमतको विकास गर्न पनि पढ्नुपर्छ । त्यही भएर फेरि पढाइलाई निरन्तरता दिएकी हुँ ।’

तपाईको प्रतिक्रिया