लेकसाइडमा डलरको कालो धन्दा : ७५ लाखसहित ३ जना पक्राउ

पोखरा ।
पोखराको लेकसाइड, जहाँ विदेशी पर्यटकको आवतजावत धेरै हुन्छ । त्यहीँ ठाउँमा लुकेको रहेछ २१ वर्षदेखि अवैध विदेशी मुद्रा सटहीको रहस्य । विदेशी मुद्राको कालो धन्दा चलाउनेल तीन जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले शनिबार तीन व्यापारीलाई पक्राउ गरेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । एसपी ओलियाका अनुसार उनीहरुले लेकसाइडमा दशकौंदेखि व्यवसायका नाममा अवैध सटही धन्दा सञ्चालन गर्दै आएका थिए ।
साउन १० गते साँझ करिब ५ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १७ पार्दी, बिरौटामा अवैध विदेशी विनिमय कारोबार भइरहेको भन्ने विशेष सूचना गण्डकी प्रदेश प्रहरीकहाँ पुग्यो । त्यसपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले टोलीले ३ जनालाई नियन्त्रणमा लिएकोको एसपी ओलियाले जानकारी दिए ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ घर भई पोखरा र रुपन्देहीमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ वर्षीय महमद मुदिन एम अहमद, झापाको दमक वडा नम्बर ४ घर भई हाल पोखरा ६ बैदाममा ‘हिलारी मनी चेन्जर’ सञ्चालन गर्दै आएका ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा १९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । पौडेल ‘सगरमाथा मनि चेन्जर’ का सञ्चालक हुन् ।
मनी चेन्जरको आवरण मुद्र सटहीको अवैध कारोबार गर्ने तीन जना पक्राउ
‘रेस्टुरेन्ट’ र ‘मनी चेन्जर’को आवरणमा कालो कारोबार
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार महमद मुदिन एम अहमदले आफ्नो रेस्टुरेन्ट व्यवसायको आडमा लामो समयदेखि विदेशी मुद्रा सटहीको अवैध धन्दा गर्दै आएका थिए । उनका मुख्य कारोबारी साझेदार थिए–लेकसाइड सेन्टर प्वाइन्टमा विगत २० वर्षदेखि मनी एक्सचेन्ज सञ्चालन गर्दै आएका राजकुमार बुढाथोकी । बुढाथोकी एक्ला थिएनन् ।
प्रहरी अनुसन्धान अनुसार उनको कारोबारको सम्बन्ध खेमराज पौडेलसँग पनि छ । जो १४ वर्षदेखि स्टेट नम्बर १४ मा विदेशी मुद्रा सटहीको अवैध कारोबार गर्दै आएका छन् । लेकसाइडमा चहकिला होडिङ बोर्ड र पर्यटकको भीडबिच यी मनी चेन्जरहरू कानुनी देखिए पनि भित्री कारोबार पूरै गैरकानुनी रहेको एसपी ओलियाले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय युरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । जुन हालको दर अनुसार करिब ७५ लाख ९६ हजार ९ सय रुपैयाँ बराबर हुन्छ । यी मुद्रा कुनै अधिकृत स्रोत वा इजाजतपत्रविना सटही गरिँदै आएको एसपी ओलियाले जानकारी दिए ।
जसबाट नेपाल राष्ट्र बैंक ऐन स्पष्ट रुपमा उल्लंघन भएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ को दफा ९५ अनुसार बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गर्नु गैरकानुनी हुन्छ । यही आधारमा तीनै जनालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको र उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
एसपी ओलियाका अनुसार यो घटनाले पोखरामा संगठित रूपमा चलिरहेको अवैध विदेशी मुद्रा सटहीको प्रकरण बाहिर आएको छ । पक्राउ परेका तीनै जनालाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धान प्रक्रिया जारी छ ।






प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया