नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज नागको पूजाआराधना गरी घरको मूलढोकामा तस्बिर टाँसेर मनाइँदै छ। घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने तथा आगो, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य देवमणि भट्टराईले नागपूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको बताए। ‘वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ’, उनले भने, ‘नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।’ बराहपुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिएको उनको भनाइ छ।
प्रत्येक घरको जगमुनि नाग रहेको र उनी रिसाएमा घरको जग भत्किने विश्वासमा पनि नागपूजा गर्ने परम्पराले निरन्तरता पाएको हो। नागलाई विष्णु र शिवका रूपमा पनि मान्ने प्रचलन छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले दुवैलाई नागका रूपमा मानिन्छ। गणेशको एक हातमा नाग छ भने रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिन्छ। कृष्णले बाल्यकालमा कालीनागको दमन गरेको, बुद्धको मूर्तिको शिरमा सर्पको आकृति रहेको र मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला रहेको जस्ता प्रसंग विभिन्न पुराणमा उल्लेख छन्।
नागपञ्चमी मनाउनुको पछाडि एउटा किंवदन्ती पनि प्रचलित छ। एक किसानले खेत खन्दा नागका तीनवटा बच्चा मारेपछि क्रुद्ध नागिनीले किसानको परिवारका सदस्यलाई मारेकी थिइन्। संयोगले घरबाहिर रहेकी किसानकी छोरीलाई पनि मार्न खोज्दा उनले नागिनीको पूजा गर्ने र दूध खान दिने वाचा गरिन्। छोरीको भक्तिबाट प्रसन्न भएकी नागिनीले उनको परिवारलाई पुनर्जीवन दिएकी थिइन्। त्यही घटना साउन शुक्ल पञ्चमीका दिन भएकोले नागपूजा गरी घरमा तस्बिर टाँस्ने परम्परा बसेको विश्वास गरिन्छ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कुलका नागको पूजा गर्ने परम्परा छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र घिस्रने जनावरलाई मार्न नहुने मान्यता छ। आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीजस्ता परिकार चढाइन्छ।
वैज्ञानिक दृष्टिकोणले नाग र सर्पले प्रकृतिमा भएका विषालु पदार्थलाई शोषण गरेर पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न मद्दत गर्छन्। यही महत्व बुझेर ऋषिमुनिले नागपूजाको परम्परा बसालेको विश्वास पनि गरिन्छ। नागपञ्चमीसँगै हिन्दु धर्मावलम्बीका चाडपर्वको याम पनि सुरु हुन्छ। रासस








भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
विद्या भट्टराईको घोषणा : महाधिवेशनमा उम्मेदवारी दिन्न, सांसद पनि लड्दिन
गण्डकी विश्वविद्यालयको ‘विद्यार्थी कल्याण तथा सामाजिक मामिला’ संयोजकमा लामा नियुक्त
मध्यपश्चिम विश्वविद्यालय र लेकसिटी कलेजका विद्यार्थीले साटे अनुभव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया