मिटरब्याज र किर्ते मुद्दामा मुख्य अभियुक्त र बैंक म्यानेजर थुनामा

समाधान संवाददाता २०८२ साउन १३ गते १९:१४

नवलपुर

मिटरब्याज, ठगी र जालसाजी गरी सर्वसाधारणलाई शोषण गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले एक जना मुख्य अभियुक्त र उनलाई सघाउने एक बैङ्क म्यानेजरलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश प्रकाश कोइरालाको इजलासले कावासोतीका अमृत भुसाल र प्रभु बैंक (साबिक सेन्चुरी विकास बैंक) चोरमारा शाखाका प्रमुख राजेश खरेललाई थुनामा राख्न आदेश दिएको हो।

मध्यविन्दु नगरपालिका–७ का रामप्रसाद महतोको जाहेरीका आधारमा प्रहरीले भुसाल, उनकी श्रीमती सविता काफ्ले, बैंक म्यानेजर खरेल र लक्ष्मी सनराइज बैंकमा कार्यरत सविता अर्यालविरुद्ध मुद्दा दायर गरेको थियो। भुसालकी श्रीमती काफ्ले र अर्याल भने हाल फरार छन् र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

Advertisement

अनुसन्धानका अनुसार, भुसालले पीडित महतोलाई व्यापारका लागि पटक–पटक गरी जम्मा ३६ लाख ५४ हजार रुपैयाँ ऋण दिएका थिए। तर, उनले डर, त्रास र धम्की देखाएर चक्रवर्ती ब्याजसहित बैंक चेकमार्फत १ करोड ५७ लाख र नगद ४४ लाख ५१ हजार गरी कुल २ करोड १ लाख ६६ हजार रुपैयाँभन्दा बढी असुलेको अभियोग छ।

सुरुमा २०७६ जेठमा दैनिक १५ हजार ब्याज तिर्ने सर्तमा १० लाख ऋण लिएका महतोलाई भुसालले ५० लाख पुर्‍याइदिने आश्वासन दिएका थिए। सोही विश्वासमा महतोले आफ्नो ४ कट्ठा ६ धुर जग्गा दृष्टिबन्धक राखेका थिए, जुन पछि भुसालले किर्ते गरी आफ्नी श्रीमती सविता काफ्लेको नाममा पास गराएका थिए।

Advertisement

अभियोगअनुसार, भुसालले महतो र उनकी श्रीमती रिताको नाममा रहेका बैंक खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालेका थिए। यस कार्यमा बैंकका कर्मचारी खरेल र अर्यालले गैरकानुनी रूपमा सहयोग गरेको प्रहरीको दाबी छ। भुसालले गरेको हस्ताक्षर नक्कली भएको कुरा विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट समेत पुष्टि भइसकेको छ।

गत वर्ष समाचार प्रकाशित भएपछि यो घटना बाहिर आएको थियो। त्यसपछि भुसाल पक्राउ परे पनि हाजिरी जमानीमा छुटेका थिए। जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रमाण नपुगेको भन्दै पूरक अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले झन्डै एक वर्ष लगाएर थप प्रमाण संकलन गरी मुद्दालाई निष्कर्षमा पुर्‍याएको हो।

तपाईको प्रतिक्रिया