मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य : प्रहरी महानिरीक्षक

समाधान संवाददाता २०८२ साउन १४ गते १९:०२

नारायणगढ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताएका छन्। ‘अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’ को अवसरमा आज भरतपुरमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जाल र विभिन्न भिसाको आवरणमा मानव बेचबिखनका नयाँ प्रवृत्ति देखिएको उल्लेख गरे।

उनका अनुसार गत आर्थिक वर्षमा मात्रै मानव बेचबिखनसम्बन्धी १५२ वटा मुद्दा दर्ता भई २४१ जना आरोपी पक्राउ परेका छन्। सोही अवधिमा १८४ जना पीडितको उद्धार गरिएकोमा ९० जना महिला र नौ जना बालिका छन्। थापाले सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्युरो, विभिन्न प्रकारका भिसा (भिजिट, डिपेन्डेन्ट, सिजनल, एजुकेसन, कल्चरल) र सरोगेसीको नाममा हुने शोषण मानव बेचबिखनका नयाँ प्रवृत्ति भएको बताए। उनले मानव बेचबिखन तथा यौनजन्य हिंसामा पुरुषबाट मात्र नभई महिलाबाट समेत हुने गरेको उल्लेख गरे।

Advertisement

सो अवसरमा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणका लागि सबै सरोकारवालाबीच साझा प्रयास आवश्यक रहेकोमा जोड दिए। महानगरले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी, अनाथालय व्यवस्थापन र हिंसा नियन्त्रणका लागि एक अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।

कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडी क्षेत्र मानव बेचबिखन तथा ओसारपसारका लागि प्रमुख गन्तव्य बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले चितवन जिल्लामा करिब ४० प्रतिशत बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा रहेकाले पारिवारिक विखण्डन, निगरानीको अभाव र सामाजिक समस्या निम्तिएको बताए।

Advertisement

तपाईको प्रतिक्रिया