जहाँ छन् पद्यसम्भवका ५ रत्न

सुन्दरकुमार थकाली २०८२ साउन १६ गते ११:१२

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बा स्थित अग्लो विशाल डाँडाको टुप्पोमा ‘कुछप तेरङ्गा’ गुम्बा अवस्थित छ । समुन्द्री सतहबाट ३ हजार मिटरमा अवस्थित ‘कुछप तेरङ्गा गुम्बा’ हात्तीको सुँढ आकारको विशाल पहाडको शिखरमा छ ।
सोह्रौं शताब्दीमा निर्माण भएको यो गुम्बा पाँच सय वर्ष पुरानो हो ।

‘कु’को अर्थ शरीर, ‘छप’को अर्थ साटो, ‘तेर’को अर्थ बहुमुल्य खजाना र ‘ङ’को अर्थ पाँच । शरीरका साटो पाँच बहुमूल्य खजानाको शाब्दिक अर्थ नै कुछ्प तेरङ्गा’ भन्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ । गुरु रिर्पोर्छे अर्थात गुरु पद्यसम्भवका ५ बहुमुल्य निधि अर्थात खजाना गुम्बामा प्रतिस्थापन गरिएकाले यहाको गुम्बालाई ‘कुछप तेरङ्गा’ गुम्बा नामाकरण गरिएको त्यहाँका लामा सुवास थकालीले जानकारी दिए ।


‘कुछप तेरङ्गा’ गुम्बामा कुछप तेरङ्गा (पाँच रत्न) गुरु (गुरु पद्यम सम्भव), देवा (गुरु दोर्जे ढ्रोले), डाकिनी (खण्डो हेशे छोगेल), वस्त्र (भिक्षुको वस्त्र) र डोजा (गुरु पद्यसम्भवको जुत्ता) रहेको लामा थकालीले उल्लेख गरे । यहाँको गुम्बामा घरपझोङ ठिनीका त्यति बेलाका लामा लुङ्तेन उर्गेन पाल्साङले पाँच सय वर्षअघि प्रतिस्थापन गरेको बताइन्छ ।

Advertisement


यहाँको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ‘कुछप तेरङ्गा’ गुम्बा स्थापनामा चाखलाग्दो कथा जोडिएको छ । सोह्रौ शताब्दीमा मुस्ताङ स्थित ठिनीका लामा लुङ्तेन उर्गेन पाल्साङ’ बुद्ध ज्ञान प्राप्तिका लागि भोट (तिब्बत) पुगेका थिए । त्यहाँ लामा पाल्साङले तिब्बतका नामुद गुरु तेरतोन धुईधुल ढोर्जेको समसाथमा रहेर शिक्षा आर्जन गर्न थाले । बुद्ध शिक्षा लिने क्रममा ठिनीका लामा पाल्साङले गुरु रिन्पोर्छे सम्बन्धी शिक्षाका साथै गुफामा अरुले नदेख्ने (छम) गरी) ध्यान साधना प्राप्त गर्न थाले ।


केही वर्ष भोट (तिब्बत)मा गुरुको शरणमा बसेर तपस्या पूरा गरेका उनै लामा पाल्साङ गुरुले पद्यसम्भवसम्बन्धी शिक्षासमेत आर्जन गरे । त्यहाँ आफ्ना गुरु तेरतोन धुइधुल ढोर्जेसँग शिक्षा प्राप्त गरेपछि गुरुको आग्रह अनुसार प्राप्त गरेको शिक्षालाई आफ्नै ठाउँमा बसेर बाड्न पाल्साङ लागे ।

Advertisement

गुरु रिर्पोर्छेका ५ बहुमुल्य निधि अर्थात खजाना गुम्बामा प्रतिस्थापन गरिएकाले गुम्बालाई ‘कुछप तेरङ्गा’ भन्न थालियो ।


शिक्षा प्राप्त गरी गाउँ फर्किन लागेका लामा पाल्साङलाई गुरु पद्यसम्भवका पाँच रत्न अर्थात कुछ्प तेरङ्गा गुरुले सुम्पिए । गुरुले ठिनीका लामा पाल्साङलाई भनेका त्यति बेला भनेका थिए, ‘यो गुरुको पाँच रत्न लैजानू, त्यसलाई तिम्रो गाउँ नजिकको ठाउँमा दायाँबायाँ हिमाल देखियोस्, हात्तीको सुँढ जस्तो विशाल पहाड, नजिकै ताल र फेंदमा नदी बगेको होस्, त्यस्तो ठाउँ खोजेर मैले सुम्पिएको पाँच रत्न गुम्बा बनाएर प्रतिस्थापन गर्नू ।’


तिब्बती धर्मगुरु तेरतोन धुईधुल ढोर्जेको आज्ञा अनुसार त्यहाँबाट फर्किएपछि मुस्ताङको ढुम्बा डाँडामा गुम्बा निर्माण गरी पाँच रत्न अर्पण राखिएको धार्मिक ग्रन्थमा उल्लेख रहेको गुम्बाका लामा सुवास थकालीको भनाइ छ । तिब्बती गुरुको आज्ञा अनुसार ठिनीका लामा पाल्साङले दायँबाँया नीलगिरी हिमाल, हात्तीको सुँढ आकारको ढुम्बा पहाड, नजिकै ढुम्बाताल र फेंदमा कालिगण्डकी नदी रहेको ढुम्बा डाँडामा कुछ्प तेरङ्गा गुम्बा निर्माण गरी पाँच रत्न अर्पण गरेका थिए । यहाँको कुछ्प तेरङ्गा गुम्बा ठिनी गाउँको अधिनमा छ ।


कुछ्प गुम्बा नजिकै उत्तरतर्फ ढुम्बाताल छ । यो ताल त्यहाँको कुछ्प तेरङ्गा गुम्बालाई अर्पण गरिएको लामा सुवास थकालीको भनाइ छ । गुम्बामा विशेष धार्मिक अनुष्ठान चल्दा यहाँको तालको जल चढाउने प्रचलन छ । गुम्बा र प्राकृतिक ढुम्बाताल धार्मिक हिसाबले महत्वपूर्ण रहेकाले ढुम्बातालको संरक्षण, सम्वद्धन र प्रर्वद्धन ठिनी गाउँका लामाहरु र गुम्बा संरक्षण व्यवस्थापन समितिले गर्दै आएका छन् ।


गुम्बाको आर्थिक व्यवस्थापनमा टेवा पुर्‍याउन र ताललाई पर्यटनसँग जोड्न समितिले निरन्तर पर्यटन प्रर्वद्धनात्मक कामहरु गरिरहेको लामा थकालीले जनाए । यहाँको घरपझोङ ढुम्बाडाँडामा अवस्थित गुम्बामा रहेको कुछ्प तेरङ्गा अर्थात गुरु पद्यसम्भवका पाँच रत्न जनशक्तिको अभाव र असुरक्षाका कारण ठिनी गाउँमा रहेको अर्को गुम्बा राख्ने गरिएको छ । कुछ्प तेरङ्गा गुम्बामा विशेष पूजा हुँदा ठिनी गुम्बामा राखिएका पाँच रत्न अर्थात कुछ्प तेरङ्गा साविकको स्थानमा लैजाने गरिएको छ ।


यहाँको कुछ्प तेरङ्गा (पाँच रत्न) ठिनी गुम्बामा राखिएको र त्यहाँ दैनिक बिहान ७ बजेदेखि सूर्यास्त नहुँदासम्म भक्तजनलाई दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पाँच सय वर्ष पुरानो ढुंगा र माटोले निर्मित कुछ्प तेरङ्गा गुम्बालाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणको काम भइरहेको छ ।


ढुम्बा डाँडामा स्याङ्पा रिन्पोर्छेले भक्तजनबाट चन्दा संकलन गरी नजिकै गुम्बा र लामा निवास भवन बनाउँदै छन् । लामा थकालीले त्यहाँ कुछ्प तेरङ्गाको आवश्यक भौतिक संरचना निर्माणको काम ८० प्रतिशत भइसकेको जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया