पोखरा १२ ले बनायो प्राचीन शैलीको प्रवेशद्वार, बगैंचा र फल्चा

समाधान संवाददाता २०८२ साउन १६ गते १६:३६


पोखरा ।
इँटा र झिँगटीले बनेको गेटले भक्तपुरमा प्रचलित प्राचीन शैलीको झल्को दिन्छ । त्यही गेटबाट प्रवेश गरेपछि हरियो दुबोको बगैंचा देखिन्छ । मानौं त्यो प्राकृतिक गलैंचा हो । त्यही बगैंचाको बिचमा फेरि उही भक्तपुरे शैलीको फल्चा (प्रतीक्षालय) छ । यो दृश्य पोखरा महानगरपालिका वडा नम्बर १२ को हो ।


कार्यालय परिसर बलियो पर्खालले घेराबन्दी गरिएको छ । कार्यालय प्रवेश गर्ने सेवाग्राहीलाई आकर्षक, शान्त र शीतलता दिने परिसर निर्माण गरेको वडाले नवनिर्मित संरचनाको शुक्रबार उद्घाटन गरेको छ । पोखराका मेयर धनराज आचार्यले ती संरचना उद्घाटन गरे ।


वडा कार्यालय प्रवेश गर्दा सकारात्मक भाव सिर्जना होस् भनेरै नेपाली शैलीमा प्रवेशद्वार र फल्चा निर्माण गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । गेटमा भद्रकाली, विन्ध्यवासिनी, शीतलादेवी, तालबाराही, मुक्तिनाथ, बुद्ध र कलशको आकृति समावेश गरिएको छ । ‘हामीले निर्माण गरेको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिट होइन, यो एक महत्वपूर्ण सांस्कृतिक र मौलिकताको उदाहरण हो । यसलाई यसैरुपमा लिइदिनुहोला,’ उनले भने । कुन्सुरोसमेत राखिएको हुँदा प्रवेशद्वारबाट सकारात्मक ऊर्जा प्रवाह हुने जानकारी उनले दिए । ‘गेटमा प्रयोग भएका सामग्री सबै हस्तकला हुन्, मेसिनबाट बनेका होइनन्,’ वडाध्यक्ष बास्तोलाले भने ।

Advertisement


बलबहादुर कार्की संयोजकत्वको समितिले ती संरचना निर्माण गरेको हो । वडा कार्यालयका अनुसार प्रवेशद्वार निर्माणमा ३० लाख रुपैयाँ खर्च भएको छ । बगैंचामा ३० लाख रुपैयाँ, फल्चामा १५ लाख रुपैयाँ र पर्खालघेराबन्दीमा ६५ लाख रुपैयाँ लागत गरी १ करोड ४० लाख रुपैयाँ लागत लागेको कार्यालयले जनाएको छ ।


वडा सदस्य सन्तबहादुर थापा र निर्माण समिति संयोजक बलबहादुर कार्कीले पूर्वजनप्रतिनिधि देवीजंग गुरुङका पालामा संरक्षण भएको जमिनमा आज वडा कार्यालय लगायत संरचना बनेको हुँदा उनको सम्झना सधैं हुने स्मरण गरे ।

Advertisement


मेयर आचार्यले नेपाली शैलीलाई महत्व दिनुपर्ने बताउँदै पुरानो पोखरा (भैरवटोल, मोहोरियाटोल) लाई सम्पदाका रुपमा संरक्षण गरिने सुनाए । ९ र ६ नम्बरबाहेक सबै वडाका कार्यालय भवन तयार भइसकेको जानकारी पनि उनले दिए । उनले महानगरमा विकास निर्माणको आधार तयार भएको दाबी पनि गरे । नतिजा विस्तारै देखिने उनको भनाइ थियो ।


महानगरका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले आकर्षक संरचनाजस्तै वडाको सेवा पनि आकर्षक हुने विश्वास व्यक्त गरे । कार्यक्रम वडा सचिव शारदा सापकोटाले सञ्चालन गरेकी थिइन् । गुरुङ, नेवार र बाहुनक्षेत्री लगायत समुदाय सांस्कृतिक पोसाक र संस्कृतिमा उपस्थित भएर वडामा भएको प्राचीनशैलीको निर्माणमा उत्साह थपेका थिए । कार्यक्रममा निर्माण व्यवसायी विजय डठेपुठे र उपभाेक्ता समिति संयोजक कार्कीलाई सम्मान पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया