एनआइएमबी बैंकविरुद्ध गण्डकीका इन्जिनियर आन्दोलित

पोखरा ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) विरुद्ध नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) केन्द्रद्वारा भएको आन्दोलनमा गण्डकी प्रदेशले पनि साथ दिने निर्णय गरेको छ । बुधबार पोखरामा आयोजित एनआइएमबी बैंकमा कार्यरत इन्जिनियरहरुको भेलामा ३५ भन्दा बढी इन्जिनियरको उपस्थिति थियो ।
कार्यक्रममा उनीहरूले आन्दोलनलाई मजबुत बनाउँदै मूल्यांकन कार्य तत्काल पूर्ण रूपमा रोक्ने निर्णय लिएका छन् । नेपाल भ्यालुयर्स एसोसिएसनका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्रबहादुर गोदारले आन्दोलन सफल बनाउनका लागि सदस्यहरुलाई अनुरोध गरे ।
निर्देशन पालना नगरे केन्द्रको निर्देशन अनुसार कारवाही गरिने उनले चेतावनी दिए । अध्यक्ष गोदारले भने, ‘हाम्रो साझा संघर्षले मूल्यांकन पेसामा व्यावसायिक मर्यादा र आत्मसम्मानको रक्षा गर्ने छ ।’ कार्यक्रममा सहभागी इन्जिनियरहरूले वर्षौँदेखिका समस्याका विरुद्धमा एनभिएले सुरु गरेको आन्दोलनप्रति समर्थन जनाउँदै माग पूरा नहुन्जेलसम्म मूल्यांकन कार्य रोकिने अडान दोहोर्याए ।
उनीहरूले आन्दोलनको समयमा मूल्यांकन कार्य गर्ने इन्जिनियरहरुलाई सदस्यता नदिने र पुरानो सदस्यतासमेत खारेज गर्नुपर्नेमा जोड दिए । यसअघि केन्द्रको निर्देशन अनुसार गण्डकी प्रदेश समितिले अर्को सूचना नआएसम्मका लागि एनआइएमबीमा सम्पूर्ण मूल्यांकन कार्य तत्काल रोक्ने निर्णय गरिसकेको छ ।
गण्डकी प्रदेशमा मूल्यांकन इन्जिनियरहरूले आन्दोलनमार्फत उठाएका प्रमुख मागमा नेपाल ब्यांकर्स संघ (एनबिए) र नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) बीच भएको सेवा प्रारूप सम्झौता (सर्भिस ड्राफ्ट एग्रिमेन्ट) तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, घर–जग्गाको मूल्य घटेकै आधारमा मूल्यांकनकर्ता इन्जिनियरहरूलाई गरिएको कालोसूचीकरण तथा अन्य कारबाही तुरुन्त फिर्ता गर्नुपर्ने छन् ।
यस्तै, सूचीकृत इन्जिनियरहरूलाई काम नदिने प्रवृत्ति अन्त्य गरी चक्रिय प्रणाली अनुसार मासिक रूपमा सबैले कम्तीमा एक कार्यादेश पाउने सुनिश्चितता गरिनुपर्ने, एनभिएले निर्धारण गरेको मूल्यांकन परामर्श सेवा शुल्क (भ्यालुएसन फी) तुरुन्त लागू गरिनुपर्ने, नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार स्पष्ट जिम्मेवारीसहितको औपचारिक सम्झौतामार्फत मात्रै काम दिनुपर्ने र विभिन्न बहानामा काम नदिई गरिएको निलम्बन लगायतका कारबाही तुरुन्त खारेज गरिनुपर्ने छन् । आन्दोलन सफल पार्न गण्डकी प्रदेश समितिले सबै मूल्यांकन इन्जिनियरहरूलाई ऐक्यबद्धता भएर साथ दिन आह्वान गरेको छ ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया