पोखरामा ‘आरयु फेस्ट’ मार्फत हरित क्रान्तिको सुरुवात

समाधान संवाददाता २०८२ साउन १७ गते ७:४५

पोखरा ।

Advertisement

फोहोरलाई मोहर बनाउने मन्त्रसहित पोखराले हरित अर्थतन्त्रमा नयाँ पाइला चालेको छ। कोरियाली र संयुक्त राष्ट्रसंघीय निकायको साथमा महानगरपालिकाले सुरु गरेको ‘आरयु फेस्ट’ ले फोहोरबाटै समृद्धि र रोजगारीको ढोका खोल्ने अपेक्षा गरिएको छ।

पर्यटकीय राजधानी पोखराले फोहोरमैला व्यवस्थापनमा एक रचनात्मक र दिगो समाधानको सुरुवात गरेको छ। “फोहोरलाई खजाना (मोहोर) बनाउने” मूल मन्त्रका साथ, पोखरा महानगरपालिकाले पहिलो पटक ‘आरयु फेस्ट २०२५’ आयोजना गरेको हो। यो महोत्सव फोहोरको प्रदर्शन मात्र नभएर, फोहोरलाई पुनःप्रयोग (रिसाइक्लिङ) र सदुपयोग (अपसाइक्लिङ) गरी हरित रोजगारी सिर्जना गर्ने र चक्रीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने एक महत्वाकांक्षी अभियानको हिस्सा हो।

Advertisement

पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को क्रमशः आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत यो महोत्सव आयोजना गरिएको हो। बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा सुरु भएको यो फेस्टिभलले पोखरा र समग्र देशकै हरित विकासका लागि नवीनतम प्रयासको थालनी गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार, यो महोत्सवले सृजनशीलता, नवप्रवर्तन र दिगोपनालाई एकै ठाउँमा ल्याएर वातावरणमैत्री भविष्य निर्माणमा सघाउनेछ। आचार्यले प्रयोगविहीन सामग्रीलाई रिसाइक्लिङ र अपसाइक्लिङ गरेर हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्र निर्माणमा यो एक महत्त्वपूर्ण सिकाइ बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ्ले विश्व बजारमा हरित रोजगारीको सिर्जना वातावरणीय र पर्यावरणीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले पोखरामा सञ्चालित परियोजनामार्फत हजारौँ रोजगारी सिर्जना हुने र चक्रीय अर्थतन्त्रबाट उद्यमशीलता र आयआर्जन बढ्ने विश्वास दिलाए। कोङ्ले पोखरामा जलन सम्बन्धी उपचारका लागि सुविधासम्पन्न अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

Advertisement

त्यसैगरी, युएनडिपीका प्रतिनिधि जुलियन चेभीलार्डले रिसाइकल र अपसाइकल गरिएका वस्तुको बजार राम्रो रहेको उल्लेख गर्दै यसले महिला तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरण र जीविकोपार्जनमा बलियो आधार प्रदान गर्ने बताए। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले विकास साझेदारहरूको सहयोगमा नेपाल सरकारले रोजगारी सिर्जना र उद्यमशीलता विकासका कार्यक्रमहरूलाई दिगो र परिणाममुखी बनाउन लागिपरेको जानकारी दिए।

दुई दिनसम्म चल्ने फेस्टिभलमा देशभरिका नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्रदर्शन, जलवायु परिवर्तन, दिगो पर्यटन, र हरित उद्यमशीलता जस्ता विषयमा संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, र दक्षिण कोरियाको सफलताका अनुभवमा आधारित विशेष सत्रहरू समावेश छन्।

यो परियोजना अन्तर्गत कोइकाको ९.८ मिलियन र युएनडिपीको ०.८७ मिलियन अमेरिकी डलरको आर्थिक सहयोगमा पोखरामा ‘ग्रिन भेन्चर जोन’ (GVZ) सेन्टर निर्माण भइसकेको छ भने नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम पनि अघि बढेको छ। परियोजनाले १३६ वटा सामुदायिक समूहलाई तालिम प्रदान गरिसकेको छ र आगामी २ वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

यो फेस्टिभल विद्यार्थी, उद्यमी, नीति निर्माता र आम नागरिकका लागि सहकार्य, सृजनशीलता र सकारात्मक परिवर्तनको एक साझा मञ्च बन्ने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिकाले यस अभियानमा हातेमालो गर्न आम पोखरेलीलाई आह्वान गरेको छ, जसले पर्यटकीय राजधानीलाई एक हरित, दिगो र स्मार्ट सहरको रूपमा स्थापित गर्ने यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

तपाईको प्रतिक्रिया