गाँजा खेती र घरेलु रक्सीलाई कानुनी मान्यता : मुख्यमन्त्री पाण्डे

पोखरा।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा (भाङ) खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन र स्थानीय मदिरा (घरेलु रक्सी) लाई ब्रान्डिङ गर्न कानुनी मान्यता दिइने बताएका छन्। पोखरामा शनिबार आयोजित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले गाँजालाई बहुपयोगी बालीका रूपमा विकास गरी औषधि उत्पादनमार्फत विदेश निर्यात गर्न सकिने सम्भावना औंल्याए। ‘बागलुङमा भाङको उत्पादन बढी हुन्छ, तर अब प्रदेशभर नै यसको व्यवस्थित खेती गर्न सकिन्छ,’ उनले भने, ‘दुरुपयोग रोक्न कडा कानुनी व्यवस्थासहित अघि बढ्नुपर्छ।’ उनले घरेलु रक्सीलाई कानुनी मान्यता दिने विधेयक यही बर्खे अधिवेशनबाट अघि बढाउने तयारी भइरहेको जानकारी दिए।
मुख्यमन्त्री पाण्डेले प्रदेशमा छिट्टै पर्यटन र कृषिलाई लक्षित गरी लगानी सम्मेलन आयोजना गरिने बताउँदै विदेशमा रहेका नेपाली उद्यमीलाई ‘राइड सेयरिङ’ लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरे। उनले देशमा केही नभएको भनेर विदेशबाट फैलाइने नकारात्मक भाष्यप्रति असन्तुष्टि व्यक्त गर्दै विदेशको ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्न आग्रह गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य विकास गरेर पर्यटकको बसाइ अवधि २० दिन पुर्याउन सकिने बताए। उनले आफ्नो लगानी रहेको कम्पनीबाट १० अर्ब लगानी भइसकेको र आवश्यक परेमा व्यवसाय प्रवर्द्धनका लागि थप लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा ६ हजार ४६० वटा व्यवसाय वैदेशिक लगानीमा सञ्चालनमा रहेको र करिब ६ अर्ब लगानी भित्रिएको जानकारी दिए। उनले लगानी सहजीकरणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सहयोग गर्ने बताए।
जितु नेपालको अध्यक्षतामा प्रदेश समिति गठन
सम्मेलनले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति गठन गरेको छ। पोखराको लेकसाइडस्थित वरपिपल रिसोर्टका सञ्चालक जितु गुरुङको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा चिरञ्जीवी गौतम, सहसचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सहकोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन्। यसैगरी, टान गण्डकीका अध्यक्ष एवं कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। अध्यक्षमा निर्वाचित गुरुङले आफ्नो कार्यकाललाई सम्झनलायक बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका संयोजक आचार्यले सम्मेलनले नेपालमा रहेका सम्भावनाको उजागर गर्दै लगानी भित्र्याउन थप उत्साह प्रदान गरेको बताए। सनराइज बैंक र होप आईभीएफ लगायतका संस्थाले कार्यक्रममा सहकार्य गरेका थिए।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया